हेटौंडा–१०, टिसिएनरोडमा डेढ वर्षदेखि रोकिएको सडकपेटी र ढल निर्माणको कार्य सुचारु हुदै ।

हेटौंडाः कोरोना भाइरस सङ्क्रमणको दर बढ्दो क्रममा भए पनि हेटौंडा उपमहानगरपालिकाको विकास निर्माणका कार्य अब नरोकिने भएको छ । विकास निर्माणको कामहरुले निरन्तरता पाउने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभएको छ । लामो समयसम्म पनि कोरोना भाइरस कहिले हट्ने पत्तो नभएका कारण हेटौंडा उपमहानगरपालिकाको वार्षिक कार्यक्रम, विकास निर्माण कामहरु अब नरोकिने भएको मेयर महतले बताउनुभयो ।

उहाँले अब भौतिक दूरी कायम गरेर कामलाई निरन्तरता दिने बताउनुभयो । कोरोना भाइरस बारे धेरै हाउगुजी, प्रचारबाजी भएको भन्दै विश्वमा करोडौं मानिस निको भएका कुराहरु चर्चा आउन नसकेको उहाँको भनाइ छ । कोरोनाबाट बच्च भौतिक दूरी अनिवार्य पालना गर्न उहाँले सम्पूर्ण उपमहानगरबासीमा पनि अनुरोध समेत गर्नुभएको छ । ‘सामान्य रुघाखोकी भन्दा अलि कडा भाइरस भएका कारण अलि बढी ध्यान दिनुपर्छ’, मेयर महतले भन्नुभयो, ‘नागरिक स्वयम् सचेत भएमा कोरोनाले आक्रमण गर्न सक्दैन ।’ अहिले हेटौंडा उपमहानगरपालिकाले विभिन्न योजनाहरुको टेण्डर आव्हान गर्ने तयारी गरेको छ । विकास निर्माणको कार्यलाई निरन्तरता दिन भन्दै टेण्डर आव्हान प्रक्रियामा रहेको मेयर महतले जानकारी दिनुभयो ।

निर्माण कार्य सुरु गर्ने समय भइनसकेकाले निर्माणका कामहरु अब दशैं तिहारपछि मात्र सुरुवात हुने निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकालले बताउनुभयो । उहाका अनुसार अब टेण्डर प्रक्रिया सुरु गर्ने समय भएकोले खासै काम हुदैन । उहाका अनुसार अहिले निर्माण सम्बन्धी कार्यहरु कोरोना भाइरसको सङ्क्रमणका कारण रोकिएकोले धेरै मजदुरहरु भने पीडामा रहेका छन् । स्थानीय तहको विकास निर्माणका कार्यहरु भने अब नरोकिने उहाँले बताउनुभयो । साथै यस्तो अवस्थामा पनि स्थानीय सरकारले विकास निर्माण कामहरु गर्न सहजीकरण गरेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा पूरा हुन नसकेका अधुरा निर्माणका काम भने व्यवसायीले सुरु गरेका छन् । केहीदिन यता निर्माण व्यवसायीले हेटौंडा उपमहानगरक्षेत्रका सडकको निर्माण कार्यलाई सुचारु गरेका छन् । हेटौंडा–१०, टिसिएनरोडमा करिब डेढ वर्षदेखि रोकिएको ढल, सडकपेटी निर्माणको कार्य मंगलबारदेखि निर्माण व्यवसायीले सुरु गरेका छन् । यस्तै प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको हेटौंडा–४, हुप्रचौर क्षेत्रको बाटोको निर्माण कार्य पनि सुचारु भएको छ ।