हेटौंडाः निजामती कर्मचारीको तीनवटा ट्रेड युनियनहरुले बागमती प्रदेश सरकारलाई १० बुदे ध्यानाकर्षण तथा मागपत्र बुझाएका छन् । युनियनले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्रीहरु र प्रमुख सचिवलाई भेटेर बुधबार मागपत्र बुझाएको हो ।
युनियनले हालको अवस्थामा निजामती कर्मचारीहरुको समस्यालाई समाधान गर्न विभिन्न १० बुदे माग राख्दै मागपत्र बुझाएको हो । मागपत्रमा कर्मचारीहरुको सरुवा, बढुवा, दरबन्दी, पदपूर्ती, विभिन्न ऐन-नियम लागु लगायतका मागहरु राखिएको छ । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष एवम बागमती प्रदेशका अध्यक्ष शरण कुमार गुरुड्ड, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष एवम बागमती प्रदेशका अध्यक्ष एकनारायण शर्मा काफ्ले, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) बागमती प्रदेशका अध्यक्ष पुरुषोतम रायमाझी लगायत ट्रेड युनियनका पदाधिकारीहरुको टोलीले संयुक्त रुपमा मागपत्र बुझाएको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) मकवानपुरका अध्यक्ष राजु अर्यालले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारले माग उपयुक्त र जायज रहेको भन्दै माग सम्बोधन गराउन बागमती प्रदेश सरकारको तर्फबाट पूर्ण भूमिका र सहयोग रहने प्रतिवद्धता जनाएको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) मकवानपुरका अध्यक्ष राजु अर्यालले जानकारी दिनुभएको छ ।