मेयरकप फुटबलको उपाधि साथ ७ नम्बर वडाको टिम ।

हेटौंडा : मकवानपुरको थाहा नगरपालिकामा भएको वडास्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि ७ नम्बर वडाले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा १ नम्बर वडालाई २–१ गोल अन्तरले हराउँदै ७ नम्बर वडाले उपाधि जितेको हो ।

७ नम्बर वडाको तर्फबाट राजन गोले र शुभराज गोलेले समान १/१ गोल गरेका थिए । १ नम्बर वडाको तर्फबाट हेमन्त प्रधानले मात्र सान्त्वना गोल गरेका थिए । उपाधि जितेसँगै ७ नम्बर वडाको टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको ७ नम्बर वडाको टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता र उपविजेता टिमलाई थाहा नगरपालिकाका मेयर विष्णु विष्टले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी १ नम्बर वडाका रोहित श्रेष्ठ घोषित भएका छन् । सर्वाधिक गोलकर्ता १ नम्बर वडाका विनिप अमात्य, सर्वोत्कृष्ट डिफेन्डर ७ नम्बर वडाका आरएस थिङ, सर्वोत्कृष्ट गोलकिपर ७ नम्बरका आसामान गोले र उदियमान खेलाडी ३ नम्बर वडाका अभियान जंग रायमाझी घोषित भएका छन् ।

प्रतियोगिताका लागि प्रथम पुरस्कारको प्रायोजन बानियाँ निर्माण सेवाले गरेको थियो भने दोस्रो पुरस्कारको प्रायोजन नेपाली कांग्रेस महासमिति सदस्य जयराम लामिछानेले गर्नुभएको थियो । यस्तै, अर्जुन बस्नेतले प्रतियोगिताको विजेताका लागि शिल्ड र मेडल सहयोग गर्नुभएको आयोजक ऋषेश्वर क्लबका सचिव सन्तोष कार्कीले जानकारी दिनुभएको छ । प्रतियोगितामा ११ वटा वडाको सहभागिता रहेको थियो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष टीकाराम स्याङ्तानको सभाध्यक्षमा समापन कार्यक्रम भएको हो । कार्यक्रममा उपमेयर भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, युवा खेलकुद तथा शिक्षा शाखाका प्रमुख माधवविक्रम मल्ललगायतको उपस्थिति रहेको थियो ।