दुर्घटनाग्रस्त ग्यास बुलेट ।

हेटौँडा : त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१, रातोमाटेमा ग्यास बुलेट दुर्घटना भएको छ । दुर्घटनाका कारण उक्त सडक खण्ड एकतर्फी मात्रै सञ्चालन भएको छ ।

हेटौँडा बजारबाट भैंसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के भारतीय ग्यास लोड बुलेट गाडी दुर्घटना भएको हो । आइतबार राति करिब ९ बजेतिर दुर्घटना भएको ग्यास बुलेटका कारण बाटो अवरुद्ध भएको हो । ग्यास बुलेट पल्टिएपछि भित्तातर्फ खोलेर अस्थायी रुपमा साना सवारी साधनलाई एकतर्फी बाटो खोलिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ ।

ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने नभएको उहाँको भनाई छ । प्रहरी प्रवक्ता अर्यालका अनुसार ग्यास बुलेटको चालक र सहचालक दुबैजना सकुशल छन् । प्रवक्ता अर्यालले साँघुरो बाटो र अप्ठ्यारो भूगोलका कारण बुलेट दुर्घटना भएको हुनसक्ने बताउनुभयो । उहाँले पल्टिएको ग्यास बुलेट उठाउन ३÷४ घण्टा लाग्ने र उक्त अवधिमा हेटौँडाबाट उक्त सडकखण्ड हुँदै काठमाडौं जाने सवारी साधनहरुलाई कान्तिलोकपथ वा चिवतनतर्फको बाटो प्रयोग आग्रह गर्नुभएको छ ।

प्रहरी प्रवक्ता अर्यालले भरी ग्यास बुलेटबाट कुनै किसिमको जोखिम भने नरहने स्पष्ट पार्नुभएको छ । उहाँले ग्यास बुलेट उठाउने र सवारी आवतजावतमा सावधानी अपनाइरहेको बताउनुभयो ।