हेटौँडा : हेटौँडा–११, थानाभ¥याङ घर भई हेटौँडा–२, चौकीटोल डेरा गरी लागूऔषध कारोबार गर्ने ३५ वर्षीय सोमनाथ फुयाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सोमनाथमाथि निगरानी बढाएको थियो । प्रहरीले शनिबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा सोमनाथको डेरामा छापा मारेर प्रहरीले ६४ बोतल लागूऔषध ओनरेक्स बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले निगरानी बढाएर सोमनाथलाई पक्राउ गरेको जानकारी दिनुहुँदै मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले भन्नुभयो, ‘पक्राउ गरेपछि प्रारम्भिक सोधपुछमा सोमनाथले आफू लागूऔषध प्रयोगकर्ता भएको र लागूऔषधको कारोबार समेत गर्ने गरेको बताएको छ ।’ मकवानपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमती लिई सोमनाथलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
पछिल्लो समय हेटौँडामा लागूऔषध ओनरेक्सको प्रयोग व्यापक बनेको छ । मुख्यबजारदेखि आवासीय क्षेत्रका सडक छेउमा ओनरेक्सको खाली बोतल भेटिने गरेको छ । छिमेकी मुलुक भारतसँगको रक्सौल सिमाबाट लागूऔषध प्रयोगकर्ता र कारोबारीले लागूऔषधको ल्याएर प्रयोग गर्नुका साथै कारोबार समेत गर्ने गरेका छन् । प्रहरीले यस विषयलाई प्राथमिकताका साथ अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता अर्यालको भनाइ छ ।