हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भीमफेदी गाउँपालिका कमिटीको बैठक सम्पन्न भएको छ । बैठकमा नेकपा एमालेको नीतिलाई जनतासम्म पुर्याउने विषयमा छलफल भएको हो ।
शुक्रबार बसेको एमाले गाउँपालिका कमिटीको दोस्रो पूर्ण बैठकले एमाले पार्टीमा रहेको नीति र सिद्धान्तलाई जनतासम्म पुर्याउने विषयमा छलफल भएको पार्टी गाउँपालिका कमिटी अध्यक्ष सीताराम थापाले जानकारी दिनुभयो । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी बैठकको सर्कुलरको आधारमा जनतासँग जनसंगठन अन्तर्गत ३ महिने अभियान सञ्चालन गर्ने विषयमा छलफल गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाभित्र रहेको वडा कमिटीको जनवर्गीय कार्यक्रमहरुको विषयमा केन्द्रित रहेर छलफल गरिएको अध्यक्ष थापाको भनाइ छ ।
पार्टीमा सदस्यता थप र सदस्यता नवीकरणको विषयमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो । नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयको भवन निर्माणको विषयमा पनि छलफल गरिएको अध्यक्ष थापाको भनाइ छ । आगामी चैत मसान्तसम्म पार्टीमा आवद्ध भएका पदाधिकारीहरुले सदस्यता नवीकरणको काम सम्पन्न गर्नुपर्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सञ्चालन गर्ने अभियानमा सहयोग गरिने उहाँले बताउनुभयो । गाउँपालिका कटिमीको बैठकमा सत्तारुढ दलका प्रमुख सचेतक मधेशकुमार बर्तौला, एमाले बागमती प्रदेश कमिटीकी सदस्य भगवती पुडासैनी, जिल्ला कमिटीका सदस्य सन्तोष पौडेललगायतको उपस्थिति रहेको थियो ।