मंसीर दोस्रो सातादेखि मकवानपुर र आसपासका क्षेत्रमा चिसो बढेको छ । हिउँदयाम भएकोले चिसो बढ्नु स्वभाविक हो । मौसम समयानुसार परिवर्तन हुँदै जान्छ । वार्षिक चक्रमा घुमिरहने मौसम मूलतः एउटा प्रणाली नै हो । आजको चिसो मौसममा असार–साउनको गर्मीलाई स्मरण गर्ने हो भने जिउ झस्कन्छ । गर्मीका बेला लल्याक–लुलुक हुने हाम्रो शरीर यो जाडोमा कक्रेर समस्या हुन्छ । चिसो मौसममा विशेषगरी ज्येष्ठ नागरिक, श्वासप्रश्वास तथा दीर्घरोगी र बालबालिकालाई बढी जोखिम हुन्छ । आर्थिक अवस्था कमजोर भएको परिवारको हकमा जाडो महिनामा आङ ढाक्ने न्यानो कपडा समेत पाउन मुस्किल हुने अवस्था आउँछ ।
उखरमाउलो गर्मीको समयमा जाडोको निक्कै सम्झाना आउँछ । तर, जाडो कटाउन सजिलो भने छैन । जाडो मौसमले मुख्यतः शरीरमा समस्या हुन सक्ने जोखिमप्रति ध्यान दिनु जरुरी हुन्छ । चिसो मौसममा शरीरमा लगाउने लुगा भन्दा पनि स्वास्थ्यमै ध्यान दिनुपर्छ । पोषिलो खानेकुरा, शरीरमा तातो बढाउने र उर्जा दिने खानेकुरा खानु जरुरी हुन्छ । नेपालका परम्परागत मौलिक खानाले जाडोमा पोषण प्रदान गर्ने गर्दछ । सिस्नु, गहत, कोदोको ढिंडो जस्ता वस्तु शरीरमा तातोको मात्रा बढाउन मद्दत पु¥याउँछ । कतिपय चिसो चिजलाई तताएर पनि सेवन गर्न सकिन्छ । यस्ता उपाय अपनाएर पनि चिसो मौसममा शरीरलाई हुन सक्ने हानी–नोक्सानी र जोखिमको अवस्थालाई विश्लेषण गर्न सक्नुपर्छ ।
विश्वव्यापी मौसम परिवर्तन, जलवायु परिवर्तनका कारण पछिल्लो समय मौसमप्रति आम मानिसको प्राथमिकता र चासो बढेको छ । यस्ता चासो र सरोकारले वातावरण, जलवायु परिवर्तनको मुद्दालाई सरोकारवाला र नागरिकले बुझ्ने र जिम्मेवार हुने प्रयास गर्नेछ । यतिबेला चिसो मौसमका कारण कष्टकर जीवन बिताइरहेका परिवार र व्यक्तिहरुका विषयमा सरकारले ध्यान दिनुपर्छ । वडा तहसम्म जनप्रतिनिधि स्थापित भइसकेको सन्दर्भमा आगामी दिनमा सरोकारवालालाई कसरी जिम्मेवार बनाउन सकिन्छ भन्ने विषयमा विद्यालय, समुदायमा कुरा गर्नु पर्छ । मौसम, वातावरणकै कारण हामीले गएको वर्ष ठूलो क्षति व्यहोरेका छौं । आजको घटना हिजोको मात्रै क्रियाकलापको उपज होइन । त्यसैले आजकै दिनदेखि हामी युवा पुस्तालाई वातावरण र मौसमका बारेमा बुझाउन सक्यो भने अर्को पुस्ताले लाभ लिन सक्लान, बढ्दो जोखिमबाट छुटकारा पाउन सक्छ ।
जलवायु परिवर्तन, वातावरण प्रदुषणले प्रत्यक्ष, अप्रत्यक्ष मानिसको स्वास्थ्यमा नै असर गर्छ । अहिले चिसो बढेसँगै रुघा, खोकी जस्ता सामान्य स्वास्थ्य समस्या देखा पर्ने गरेको छ । जसले हामीलाई जोखिममा पनि पार्न सक्छ भने नियमित काम, कारवाही प्रभावित तुल्याउँछ । तसर्थ स्वास्थ्यका दृष्टिले हिउँद याममा आवश्यक सतर्कता अपनाएर जोखिमको सम्भावनालाई टाढै राख्नुपर्छ । मानिसले लवाई, खुवाई दुबैमा ध्यान दिएर जाडो मौसममा आफूलाई स्वस्थ र सक्रिय दैनिकीलाई सम्भव तुल्याउनुपर्छ । यस विपरित ध्यान नपुग्दा शरीरले दुख पाउने एकातर्फ रहन्छ भने अर्कोतर्फ उपचार खर्चवापत पनि दोहोरो मार व्यहोर्नुपर्ने खतरा रहन्छ ।