हेटौँडा ः हेटौँडा उपमहानगरपालिका–१८ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । बुधबार एक समारोहबीच ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको हो । वडाध्यक्ष अनिलकुमार बानियाँको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
वडाको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै वडाध्यक्ष बानियाँले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूराभएसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको जानकारी दिनुभयो । ५१ वटा सूचकमध्ये ४६ वटा सूचकमा १०० प्रतिशत र बाँकी सूचकमा घोषणाका लागि आवश्यक नतिजा हाँसिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको उहाँले बताउनुभयो । बालबालिकाका लागि पञ्चवर्षीय लगानी योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको उहाँको भनाई छ ।
बाल विकास केन्द्रसहित वडामा ४ वटा सामुदायिक, २ संस्थागत गरी ६ वटा विद्यालय संचालनमा छन् । टोलस्तरीय १२ र विद्यालयस्तरीय ६ गरी १८ वटा बाल समूह र एउटा वडा बाल सञ्जाल गठन भएको वडाध्यक्ष बानियाँले जानकारी दिनुभयो । जसमा ४ सय ५० जना बालबालिका आवद्ध छन् । विभिन्न संरचनागत समितिमा ५१ गरेर ५०१ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ । वडाले २०७९ साल मंसिर २३ गतेबाट बालमैत्री स्थानीय शासन पद्दतिको अवलम्बन गरी अवधारणाको शुरुवात गरेको थियो ।
घरधुरी सर्वेक्षण–२०७९ अनुसार वडामा ४ हजार एक सय १८ महिला र ४ हजार २ सय ५८ पुरुष गरी ८ हजार ३ सय ७६ जनसंख्या रहेको छ । एक हजार २ सय ३० बालक र एक हजार एक सय १९ बालिका गरी २ हजार २ सय ४९ बालबालिका छन् । २०८० साल चैत १६ गते पूर्णखोप, २०७३ साल भादौ ३० गते पूर्णसाक्षरता र २०६७ साल चैत २१ गते खुल्ला दिसामुक्त वडा घोषणा भइसकेको छ । यसअघि १४ वटा वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको छ ।
१८ नम्बर वडा पनि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणासँगै बालमैत्री घोषणा हुने वडाको संख्या १५ पुगेको छ । १ नम्बर वडा ११ गते, ३ नम्बर वडा १३ गते, १५ नम्बर वडा १५ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको तयारीमा छ । यस्तै १४ नम्बर वडा भने बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको तयारीमा छैन् । कार्यक्रममा जिल्ला समन्वय समति मकवानपुरका सदस्य विष्णुमाया थापालिया, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख सुर्यप्रसाद गौतम, जनप्रतिनिधी, विद्यार्थी, शिक्षक, अभिभावक लगायत विभिन्न संघसंस्थाको सहभागीता रहेको थियो ।