हेटौँडा ः मकवानपुर प्रहरीले मंगलबार मनहरी गाउँपालिका–८, सिम्पानीबाट ८१ किलो अवैध लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ का २२ वर्षीय युवक छेटुप थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार साँझ ५ बजेको समयमा सवारी साधन रोकी सुरक्षाजाँच गर्ने क्रममा राक्सिराङ गाउँपालिकाको चैनपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०६–००१ च ००६२ नम्बरको बोलेरो पिकअप गाडीबाट लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा, बोलेरो जिप र चालक थिङलाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर प्रहरीले दैनिकजसो लागूऔषध गाँजासहित मानिस पक्राउ गरिरहेको छ । मंगलबार बिहान पनि प्रहरीले मनहरीबाटै ६ किलो लागूऔषध गाँजासहित मनहरी–९, मगरटोलका ५४ वर्षीय दुर्गाबहादुर मोक्तानलाई पक्राउ गरेको थियो । यस्तै आइतबार बिहान हेटौँडा–१९, नेवारपानीबाट लागूऔषध गाँजासहित ११ केजीसहित २ जनालाई नियन्त्रणमा लिएको थियो । माघ ३ गते पनि मकवानपुर प्रहरीले राक्सिराङ–५, चैनपुरबाट लागूऔषध गाँजा २१२ केजीसहित बोलेरो जिप नियन्त्रणमा लिएको थियो ।