पदभार ग्रहणपछि हस्ताक्षर गर्नुहुँदै नवनियुक्त डीन प्रा. बासुदेव पोख्रेल ।

हेटौँडा ः कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वन संकायको डीनमा प्राध्यापक बासुदेव पोख्रेल नियुक्त हुनुभएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले पोख्रेललाई ४ वर्षे कार्यकालका लागि डीन नियुक्त गरेको हो । मंगलबार नियुक्तिपत्र पाउनुभएका प्रा. पोख्रेलले बुधबार पदभार ग्रहण गर्नुभएको छ ।

यसअघि २ कार्यकाल सहायक डीन हुनुभएका प्रा. पोख्रेल २०४९ सालमा तत्कालिन त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वनविज्ञान संकायबाट सेवा प्रवेश गर्नुभएको थियो । २०६९ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएपछि त्रिविबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रहनुभएका पोख्रेल २०७२ सालमा प्राध्यापक हुनुभयो ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरबाट २०४९ सालमै विज्ञान संकायअन्तर्गत प्राणीशास्त्रमा स्नात्तकोत्तर उपाधि हासिल गर्नुभएका पोखरेल आफ्नो कार्यकालमा नियमित कामलाई चुस्तदुरुस्तरुपमा सम्पन्न गर्नुका साथै शैक्षिक गुणस्तर बढाउन ध्यान दिने बताउनुहुन्छ । प्राध्यापकको संख्यामा कमि आएको र विद्यार्थीको पढाई समयमै पूरा गर्ने वातावरण निर्माण गर्नु चुनौतिको विषय भएको उहाँको भनाइ छ ।

अहिले वन संकायमा स्नातक तहमा तीन सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने स्नात्तकोत्तर तहमा एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यस्तै वन संकायतर्फ ३ जना अनुसन्धाताले विद्यावारिधी उपाधिका लागि अध्ययन, अनुसन्धानको कार्य गरिरहेको प्राध्यापक पोख्रेलले जानकारी दिनुभएको छ ।