वार्षिक खेलकुदमा सहभागी विद्यार्थीहरु ।

हेटौंडा ः हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदनको खेलकुद सुरु भएको छ । बुधबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा वडा अध्यक्ष सुशील घिमिरेले वार्षिक खेलकुदको उद्घाटन गर्नुभयो । प्रिन्सीपल निर्मल पराजुलीको सभाध्यक्षमा उद्घाटन समारोह भएको हो । बिहीबारसम्म सञ्चालन हुने खेलकुदमा करिब २ सय जना विद्यार्थीको सहभागिता रहेको छ ।

नर्सरी कक्षादेखि ९ कक्षासम्म रातो सदन, हरियो सदन, पहेँलो सदन र निलो सदनका विद्यार्थीको सहभागिता रहेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष घिमिरेले गुणस्तरीय शिक्षा प्रदान गर्ने काम भइरहेको बताउनुभयो । खेलकुदको माध्यमबाट विद्यार्थीको समग्र विकासका लागि विद्यालयले आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रमप्रति उहाँले खुशी व्यक्त गर्नुभयो । खेलकुदले विद्यार्थीको अनुशासन र बाहिरी ज्ञानलाई बढाउन मद्दत पु¥याउने उहाँले बताउनुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नवराज अर्यालले विद्यालयको पाठ्यक्रममा पनि अतिरिक्त क्रियाकलापको विधालाई समावेश गर्न आवश्यक रहेको बताउनुभयो । पाठ्यक्रममा क्रियाकलापलाई समावेश गराएमा सबै विद्यार्थी सहभागी हुने पाउने उहाँले अपेक्षा गर्नुभयो । खेलकुद कार्यक्रम अन्तर्गत भलिबल, फुटबल, क्रिकेट, लङ्ग जम्प, टग अफ वार लगायतका खेलहरु सञ्चालन हुनेछ । विद्यार्थीको नृत्य प्रस्तुती, मार्चपाससहित प्रतियोगिताको उद्घाटन गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई समापन कार्यक्रममा पदकसहित प्रमाणपत्र प्रदान गरिने छ । उद्घाटन समारोहमा शिक्षक प्रतिनिधिको उपस्थिति रहेको थियो ।