हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाका शिक्षक प्रेम बहादुर बोम्जनलाई आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका ३० वर्षीय पुरुषले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानका क्रममा लुटपाट गर्ने उद्देश्यले बोम्जनमाथि आक्रमण गर्ने तीन जनाको समूहमध्ये एक जना भारतीय नागरिक भएको बुझिएको प्रवक्ता खड्काले बताउनुभयो । सिन्धुली र सर्लाही जिल्लाको सिमानामा पर्ने जंगल क्षेत्रमा लुकेर लुटपाट गर्ने प्रयासमा रहेको समूह ट्याक्टर र मोटरसाइकल आएको आवाज सुनेपछि बोम्जनमाथि बन्दुक प्रहार गरी फरार भएका थिए । तीन जनाको समूहले आइतबार बोम्जन र उहाँका भाइ दिलबहादुर बोम्जनमाथि आक्रमण गरेका थिए ।
फरार मध्ये एकजनालाई सर्लाही प्रहरीले सर्लाही जिल्लाको बागमती गाउँपालिका–१२, बथानटोलबाट आइतबार दिउँसो २ बजेर ५६ मिनेटमा पक्राउ गरेको जनाएको छ । प्रहरीले प्रत्यक्षदर्शीको सूचनाका आधारमा शंकास्पद अवस्थामा उनलाई पक्राउ गरेको थियो । सर्लाही प्रहरीले नियन्त्रणमा लिएका अभियुक्तलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लगेर सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको जनाएको छ ।
फरार रहेका २ जना मध्ये एकजना भारतीय नागरिक र अर्का एकजना सिन्धुली जिल्लाकै भएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । लुटेरा समूहको आक्रमणमा परी घाइते भएका शिक्षक बोम्जनको काठमाडौंमा उपचार भइरहेको छ । सोमबार बोम्जनको शल्यक्रिया गरिएको छ । बोम्जनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।