हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–४, मार्तल पुलमा मंगलबार मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर–४, मार्तलपुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ११ प ८४८० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बा प्र ०६–००२ प ९६०५ नम्बरको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक रत्ननगर–४ का ५५ वर्षीय निलबहादुर उप्रेतीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भीर अवस्थाका उप्रेतीलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याइएको थियो । उप्रेतीको उपचारको क्रममा मंगलबार साँझ ७ बजेर ३५ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक राप्ती नगरपालिका–६ का २७ वर्षीय सकेश चौधरीको नाक र मुखमा चोट लागेको छ । चौधरीको भण्डारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।