हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–९ मा ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार बिहान १ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा वीरगन्जबाट नवलपरासीतर्फ जाँदै गरेको रा १ ख ३०४८ नम्बरको ट्रक र भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना ३८ प ११९१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५ का ३४ वर्षीय राजन न्यौपानेको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए । घाइते न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा न्यौपानेको बिहान २ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएकोे छ । ट्रक चालक दाङको तुलसीपुर उपमहानगरपालिका–११ का २४ वर्षीय बिनोद राउतलाई ईलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ ।