हेटौँडाः शैक्षिक सत्र सुरु हुनुभन्दा २ महिना अगावै आवेदनका लागि आव्हान गरेर शैक्षिकसत्र सुरु हुनुअगावै संस्थागत विद्यालयको वर्गीकरण तथा शूल्क निर्धारण गर्नुपर्ने व्यवस्था विपरित हेटौँडा उपमहानगरपालिकाको शिक्षा समितिले शैक्षिकसत्र सुरु भएको ४ महिनापछि विद्यालयको वर्गीकरण गरेको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा समितिको गत असार २६ गते र साउन १० गते बसेको बैठकले हेटौँडा उपमहानगरपालिकाका ४० वटा संस्थागत विद्यालयको वर्गीकरण गरेको छ ।
हेटौँडा उपमहानगरपालिका विद्यालय वर्गीकरण तथा शूल्क निर्धारण कार्यविधि–२०७९ को दफा–३ मा विद्यालयले शैक्षिक सत्र सुरु हुनुभन्दा २ महिना अगावै विद्यालय वर्गीकरणका लागि पालिकामा निवेदन दिनुपर्ने व्यवस्था छ । पालिकामा प्राप्त निवेदनउपर आवश्यक अध्ययन गरेर पालिकाको शिक्षा समितिले विद्यालयको वर्गीकरण र शूल्क निर्धारणको काम गर्नुपर्ने व्यवस्था छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले ४ महिनामा विद्यालय वर्गीकरणको प्रक्रिया टुंग्याएको हो । शिक्षा विकास महाशाखाका अधिकृत हरिचन्द्र सापकोटा र पुष्करराज विष्टको नेतृत्वमा जनप्रतिनिधि, प्याब्सन प्रतिनिधिको दुई वटा समूहले विद्यालयको अनुगमन गरेर वर्गीकरणको प्रक्रिया अगाडि बढेको थियो ।
हेटौँडाका ४८ वटा संस्थागत विद्यालयमध्ये जम्मा दुईवटा विद्यालय ‘क’ वर्गमा परेका छन् । हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी र हेटौंडा–११ स्थित हेटौंडा एकेडेमी मात्रै ‘क’ वर्गमा पर्न सफल भएको हो । ‘ख’ वर्गमा २७ वटा विद्यालय परेको छ । ‘ग’ वर्गमा १० वटा विद्यालय परेको छ भने एउटा विद्यालय ‘घ’ वर्गमा परेको छ । हेटौंडा–५ को रिलायन्स इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कूल ‘घ’ वर्गमा परेको हो । हेटौँडाका ८ वटा विद्यालयले स्वमूल्यांकन फारमसमेत भरेका छैनन् । वर्गीकरणको प्रक्रियामा विद्यालयले तयार पारेको स्वमूल्यांकन फारममै आधारित भएर अनुगमन गरिएको थियो । विद्यालय वर्गीकरण गर्नका लागि महाशाखाले ७० बुँदे सूचक तयार पारेको थियो ।
कुल २ सय पूर्णाङ्कको मूल्यांकन गरी ८० प्रतिशतभन्दा माथि अंक प्राप्त गर्ने विद्यालयलाई ‘क’ वर्गको विद्यालयको रुपमा वर्गीकरण गरिएको हो । ६० देखि ७९.९ प्रतिशत अंक प्राप्त गर्ने विद्यालयलाई ‘ख’ वर्गमा राखिएको छ । ४० देखि ५९.९ प्रतिशत अंक प्राप्त गर्ने विद्यालयलाई ‘ग’ वर्गमा राखिएको छ भने ४० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने विद्यालयलाई ‘घ’ वर्गमा राखिएको छ । विद्यालयको पूर्वाधार, विद्यार्थीको सिकाई, टिकाउ दर, उत्तीर्ण दर, शिक्षक, कर्मचारीको अनुपात, वृत्तिविकास, सेवा सुविधा, खानेपानी, शौचालयको सुविधा, प्रयोगशाला, पुस्तकालयको सुविधा, खेल पूर्वाधारलगायतका विद्यालयको बहुपक्षीय मूल्यांकन गरिएको हो ।