हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले जनप्रतिनिधिसँग शैक्षिक तथा भौतिक सामग्री माग गरेका छन् । सोमबार भएको साझेदारी कार्यक्रममा आधुनिकका विद्यार्थीहरुले जनप्रतिनिधि तथा प्रहरीमाझ शैक्षिक तथा भौतिक सामग्री माग गरेका हुन् ।
कार्यक्रममा एक विद्यार्थीले विद्यालयको पर्खाल सानो भएका कारण विद्यार्थीहरु विद्यालयबाट भाग्ने गरेको बताएका छन् । विद्यालय नजिकका पसलहरुबाट सुर्ती, चुरोट तथा मदिरा बिक्री वितरण भएको भन्दै विद्यार्थीले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा विद्यार्थीले विद्यालयमा क्यान्टिनको राम्रो व्यवस्था नभएको र खाजा खाने स्थानसमेत नभएको गुनासो गरेका थिए ।
विद्यार्थीको प्रश्नलाई सम्बोधन गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहमद समिमले अतिरिक्त क्रियाकलापका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले आगामी ३–४ महिनामा करिब ६० लाख रुपैयाँको स्तरीय क्यान्टिन बन्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै, एक महिनाभित्र कम्प्युटर प्रयोगशाला र ई–पुस्तकालय तयार हुने उहाँको भनाइ छ । विद्यालयले एक सय ६९ जना बालक र ७ सय ४ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरुले आगामी दिनमा हुने शैक्षिक कार्यक्रम, लागूऔषधसम्बन्धी भएको अनुगमन, वडा नम्बर ४ लाई शिक्षाको केन्द्रविन्दु बनाउने योजना, बालमैत्री घोषणाका योजनासम्बन्धी प्रश्न सोधेका थिए । वडाले चालु आर्थिक वर्षको ५० प्रतिशत बजेट शिक्षामा लगानी गर्ने भएको ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले बताउनुभयो । कार्यक्रममा सिग्देलले वडालाई छिट्टै बालमैत्री घोषणा गर्नेे बताउनुभएको छ ।
विद्यार्थीहरुले विद्यालयमा खेलकुद सामग्री, चिसो पानीको व्यवस्था, क्यान्टिनको खाजा र खाजा खाने स्थानको व्यवस्था गर्न आग्रह गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले पङ्खा, खेलकुद सामग्री, प्रोजेक्टर, प्रयोगशाला, जेनेरेटर, अतिरिक्त कक्षा सञ्चालन, डस्टविन, सफा खानेपानी, व्यवहारिक कक्षालगायत माग गरेका छन् ।