हेटौंडाः विभिन्न पुराना रीतिरिवाजका कारण बालविवाह रोक्न समस्या भइरहेको बताइएको छ । समाजले पुराना अनुपयुक्त संस्कृतिजस्तै बालविवाह अझै छोड्न नचाहेका कारण बालविवाह रोक्न नसकिएको बताइएको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाका बासिन्दाहरुले पुरानो चलन संस्कृति छाड्न नसकेका कारण बालविवाह रोक्न समस्या भइरहेको अस्मिता नेपालकी संयोजक शान्ति कार्कीले बताउनुभयो । यस्तो चलन रोक्न कडा कानुन चाहिने उहाँले बताउनुभयो । पहिलेको समयभन्दा अहिले गाउँपालिकाका स्थानीय बासिन्दामा सचेतना बढेको उहाँको भनाइ छ । पहिले जनप्रतिनिधिहरुलाई खोजेर सम्झाउन तथा बुझाउनु गाह्रो हुन्थ्यो भने अहिले बालविवाह भएको थाहा पाउनेवित्तिकै खोजी गर्दै आउने गरेको उहाँले बताउनुभयो ।
अस्मिता नेपालले बालविवाह गरेर गएका १२ जनालाई घर फर्काएको छ । संस्थाले विभिन्न कार्यक्रमको आयोजना तथा तालिम सञ्चालन गर्दै बालविवाह न्यूनीकरणको तेस्रो चरण सम्पन्न गरेको छ । पहिलो प्राथमिकता बालविवाह न्यूनीकरणलाई राखेको संस्थाले विगत २०५५ सालदेखि महिला तथा बालबालिकाको हक अधिकारका विषयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बालविवाहलाई अन्त्य गर्न नसकेपनि न्यूूनीकरण गर्न संस्थाले निरन्तर प्रयास गरिरहेको संयोजक कार्कीको भनाइ छ । अस्मिता नेपालले राक्सिराङ गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा बालविवाह न्यूनीकरणसम्बन्धी विभिन्न अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाले पहिलो चरणमा एक वर्ष सिकाई बसका साथै तथ्याङ्क संकलन, मूल्यांकन तथा शैक्षिक सहयोगजस्ता कार्यहरु गरेको थियो । यस्तै, दोस्रो चरणमा संस्थाले कार्यतालिकाको सुरुवात, समूह निर्माण, अन्तरक्रिया कार्यक्रमजस्ता कार्य गरेको थियो ।
संस्थाले तेस्रो चरणमा विभिन्न विषयमा मागअनुसार तालिम सञ्चालन गरिरहेको छ । कार्कीका अनुसार संस्थाले चौथो चरणको कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । वडा तथा पालिकालाई नै बजेट छुट्याउन लगाएर संस्थाले बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । संस्थाले हरेक वडामा बाल समूह बनाएर किशोरकिशोरीलाई बालविवाह न्यूनीकरणसम्बन्धी मासिकरुपमा छलफल गराउने गरेको छ । कार्कीका अनुसार समाजले बालविवाहमा माहिलाको भूमिकामात्र हुन्छ भन्ने ठानेको भए पनि यसमा पुरुषको भूमिका धेरै देखिन्छ ।
अहिले बालबालिकाहरु धेरै सचेत भए पनि बालविवाहसम्बन्धी कानुनी बहस, किस्सा थाहा नभएको उहाँको भनाइ छ । बालविवाह गर्ने तथा गराएमा हुने सजाय, कानुनी फैसला, जानकारीको विषयमा अभिभावकहरुलाई समेत सचेत पार्नु पर्ने आवश्यकता कार्कीले औंल्याउनुभयो । संस्थाले अभिभावकहरुको पनि समिति गठन गरेको छ भने एसआरएचको विषयमा बालबालिका र अभिभावकलाई शिक्षा प्रदान गरेको छ । कार्कीका अनुसार भौगोलिक विकटता र प्राकृतिक प्रकोपका कारण कार्यक्रम गर्न चुनौती भएको छ । गर्मी र वर्षाका कारण भदौ महिनासम्म कार्यक्रम स्थगित गरिएको छ ।
किशोरीहरुलाई पहिलो प्राथमिकतामा राखेर संस्थाले बालबालिकालाई विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने गरेको छ । कार्कीका अनुसार आगामी दिनमा संस्थाले बालबालिकालाई मोडालिटी फरक गरेर जीवनोपयोगी शिक्षा सिकाउने र बालबालिकालाई सीपमूलक तालिममा बढि जोड दिइनेछ । शिक्षालाई प्राथमिकतामा राखेर संस्थाले बालबालिबालाई सामाजको बारेमा चेतनशील बनाउने कार्कीले बताउनुभयो ।