हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाबाट निकासी गरिएको खानीजन्य माटो ढुवानी गर्ने ढुवानीकर्तालाई जरिवाना तिराएर हेटौँडा उपमहानगरले १५ वटा ट्रकलाई छाडेको छ । शुक्रबार राती ९ बजेको समयमा हेटौँडा–१७, हटियाबाट नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएको माटो लोड भएको १५ वटा ट्रकलाई शनिबार बिहान प्रतिट्रक १८ हजार रुपैयाँका दरले जरिवाना गरेर छाडिएको हेटौँडा उपमहानगरपालिकाका राजश्व शाखाका प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
बकैया गाउँपालिका–४ बाट निकासी भइरहेको खानीजन्य माटो सामान्य माटो नभई खानीको बहुमूल्य हुन सक्ने अनुमान गरिए पनि उपमहानगरले थप अनुसन्धान केही नगरी जरिवाना गराएर छाडेको हो । बिदाको दिन समेत उपमहानगरले जरिवाना गराएर थप शंकास्पद हुने गरी ट्रकहरु छाडिएको छ । बकैयाबाट नदिजन्य पदार्थको राजश्व बुझाएर आएको भनिएको ट्रकलाई जरिवाना गर्नुपर्ने वा ट्रकले राजश्व तिरेको बस्तुमाथि जरिवाना तिर्न तयार हुने अवस्थाले अझ बढी आशंका जन्माएको छ ।
बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त खत्रीले सामान्य माटोमा लाग्ने राजश्व लिएर खानीजन्य माटो बिक्री गरिरहेको जानकारी दिनुभएको छ । माटो निकासीको क्रममा ढुवानी गर्ने ट्रकमा निकासीका लागि आवश्यक कागजपत्र नभेटिएपछि हेटौँडा उपमहानगरपालिकाको नगरप्रहरीले शुक्रबार राती ट्रकहरु नियन्त्रणमा लिएको थियो । ट्रकलाई नियन्त्रणमा लिएर हेर्ने क्रममा माटो खानीजन्य र बहुमूल्य खनिजसहितको भएको अनुमान गरिएको छ । माटो धातु रंगको र चुम्बक प्रयोग गर्दा चुम्बनमा माटो फलामजस्तै टाँसिने प्रकृतिको छ ।
ट्रक चालकहरुले मकवानपुरको बकैया गाउँपालिका–४ बाट लोड गरिएको माटो अर्घाखाँची जिल्लास्थित सिमेन्ट उद्योगमा लैजान लागेको बताएका थिए । उनीहरुले सिमेन्ट उद्योगको नाम भने बताउन चाहेनन् । मकवानपुरको बकैया गाउँपालिका बहुमूल्य युरेनियमको खानी समेत भएकोले पनि अहिले माटो निकासीको विषय शंकास्पद देखिएको हो । बकैया गाउँपालिकाका उपाध्यक्ष खत्रीले विरोधाभासपूर्ण प्रतिक्रिया दिनुभएको छ । ३ महिनादेखि प्रतिघनफिट ९ रुपैयाँका दरले राजश्व लिएर माटो निकासी गरिरहेको बताउनुभएका उपाध्यक्ष खत्रीले अहिले परीक्षणका लागि पठाइएको दावी गर्नुभयो ।
बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले भने माटो निकासी गर्नुअघि खानीजन्य भए, नभएको भनी परीक्षण नगरिएको बताउनुभयो । खानीजन्य भए, नभएको भनी पालिकाले परीक्षण गर्न सक्ने अवस्था नरहेको उहाँको भनाई छ । खानी विभागमा परीक्षण गर्न सकिन्थ्यो होला नि भन्ने प्रश्नमा प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो, ’हामीले परीक्षण गर्न सकेनौं अब तपाईंहरुले बुझेर समाचारमा लेख्नु न ।’
शनिबार बिहान फोन गर्दा माटो निकासीको विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले आवश्यक अनुसन्धान गरिने बताउनुभएको थियो । तर, उपमहानगरले जरिवाना गरेर छाडेपछि पनि प्रमुख जिल्ला अधिकारी चिलुवालले थप बुझ्ने बताउनुभएको छ ।