आकाङ्क्षा निरौला

खबर चौतारी साप्ताहिक र नवसंकेत साप्ताहिकको कार्यकारी सम्पादकका रूपमा काम गरेका एवम् लामो समय विद्यालय र क्याम्पसमा अध्यापन गरेका कवि, कथाकार एवम् निबन्धकार विजय सापकोटाले नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिएका छन् । वि.सं. २०३७ साल फागुनमा काभ्रेपलाञ्चोकको यार्लेमा जन्मिएका उनले “उडान” साथसाथै “आमाको माया” (बाल उपन्यास), “अनावरण” (कथा सङ्ग्रह) लगायतका मनमोहक कृतिहरू लेखेका छन् तथा उनको एउटा बाल उपन्यास र कथा सङ्ग्रह चाँडै प्रकाशनमा आउँदै छ ।

विजय सापकोटाद्वारा लिखित “उडान” एउटा किशोर उपन्यास हो । वि.सं. २०७५ साल माघ महिनामा शाब्दिक बुक्सद्वारा प्रकाशित २४५ पृष्ठभूमिको यस उपन्यासमा आजको यो आधुनिकताले भरिपूर्ण सामाजिक सञ्जालको जमानामा कसरी प्रविधिको सदुपयोग गर्ने ? किशोरावस्थामा मनमा उत्पन्न हुने भावनालाई कसरी नियन्त्रण गरी सकारात्मकताको बाटोमा हिँड्ने ? हाम्रो देशका किशोरकिशोरी अर्थात् देशको भोलिका कर्णधारको जीवनमा देखा परेका पारिवारिक, सामाजिक एवम् शैक्षिक क्षेत्रका समस्या के के हुन् ? आदि जस्ता प्रश्नहरुको उत्तर दिने यो उपन्यासले अत्यधिक ज्ञान प्रदान गर्दछ ।

उपन्यासको सुरुवात गरिमाको विद्यालयको परिवेश अनि राम्रा व्यक्तिहरु देश छोडी विदेश जाने प्रवृत्तिजस्तो तीतो यथार्थको चित्रणबाट हुन्छ । विद्यार्थीहरूलाई सर विदेश गएकाले माध्यमिक तहमा पढाउन नयाँ शिक्षिका आएको देख्दा महिलालाई कुनै कामका लागि पनि योग्य नठान्ने पितृसत्तात्मक समाजको प्रभाव केही विद्यार्थीमा पनि परेको देखिन्छ । केही दिनपछि, लामो, डरलाग्दो र सुनसान बाटोबाट गरिमा र सरोजसँगै घर जाने गरेको थाहा पाएर गरिमाकी साथी सम्पदाले गरिमालाई मायाप्रेमका कुरा सुनाउँछे । फिल्ममा देखेको प्रेमकथा अनि पुस्तकमा पढेको अजम्बरी प्रेमको कथा । गरिमाको सम्पदालगायतका सबै साथीहरुको “ब्याईफ्रेन्ड” रहेको देखेर उसलाई पनि मनमा खुल्दुली सुरु भई ऊ सरोजको सामान्य बोलीचाली र आचरणलाई पनि नानाथरी सोच्छे । सोच्दा सोच्दै उसलाई आफ्नो जीवन बेकार लाग्न थाल्छ, ऊ आफूलाई सबैभन्दा दुःखी केटीका रूपमा सोच्छे र सरोजलाई प्रेमपत्र लेखेर दिन्छे । सरोजले भने गरिमालाई यथार्थपरक कुरा भन्छ अनि आफूले जीवनमा अत्यन्तै सङ्घर्ष गरेको र जिन्दगीमा धेरै पढेर राम्रो काम गर्न चाह्ने आफ्नो इच्छा रहेको कुरा व्यक्त गर्छ ।

गरिमा भने आफू मनिषा जति राम्री नभएर सरोजले मन नपराएको सोँच्छे र घर गएर आफूलाई अरु भन्दा कमजोर भएको पाउँछे । सबैद्वारा ज्ञानी भनिएकी गरिमा आफ्नै आमालाई नराम्रो भन्छे । आमाले रुँदै १० हजार दिँदा ऊ खुसी हुँदै बजार जान्छे तर आफ्ना बुबाले विदेशमा गरेको पौरख र आमाले गरेको सङ्घर्षलाई सम्झेर घर फर्किएर गरिमाले आमालाई पैसा फिर्ता गरी आफूलाई सम्हाल्छे । गरिमाको विद्यालयमा भने किरण र शिलाको अन्तरजातीय प्रेम सम्बन्धबारे थाहा पाएपछि किरणलाई मात्र दलित भएकाले नराम्रोसँग कुटिएको कुरा बाहिर आउँछ र कारबाही सुरु हुन्छ । शिलाले विद्यालय परिवर्तन गर्छे र किरणको टुटिसकेको मनोबल र विद्यालय जाने इच्छालाई पुनर्जागरण गराउने काम माध्यमिक तहमा नयाँ आएकी कविता मिसले गर्छिन् । उनी किशोर क्लब बनाएर किशोरी–किशोरीका समस्या बुझी बालबालिका ठूलो हुँदै जाँदा उनीहरूको रुचि, सपना र चाहना बद्लिने कुरा बताउँदै साहित्य, सिनेमा अथवा संगीतको प्रभावमा परेर गरिने काँचो प्रेमले भविष्य निर्धारण नगर्ने कुरा व्यक्त गर्छिन् ।

नायिका बन्ने रहर बोकेकी सम्पदा भने विक्रम भन्ने फोटोग्राफरसँग कुराकानी गर्छे । फोटो सुट गराउँछे र आफ्नो फेसबुक आइडीसमेत विक्रमलाई दिन्छे । एक दिन सम्पदालाई विक्रमले यौन दुव्र्यवहार गर्छ अनि सम्पदा रुँदै गरिमालाई फोन गर्छे । गरिमा सरोज र उसको विद्यालयका कम्प्युटर शिक्षकको सल्लाह मानेर सम्पदालाई मद्दत गर्छे र किशोर क्लबद्वारा बालबालिका माथि हुने शोषण र यौन दुव्यवहारका बारेमा सचेतना फैलाइन्छ । विक्रमले सम्पदालाई ब्ल्कयामेल गर्न खोजेपछि गरिमा र सम्पदा प्रहरीकोमा जान्छन् र विक्रमलाई पक्रन सहयोग गर्छन् । जसकारण उनीहरूले सम्मान र नगद पुरस्कार पाउँछन् । अन्त्यमा, गरिमा आफ्नो भविष्यप्रति सचेत हुन्छे अनि सरोज र गरिमा फेरि राम्रा साथी बन्छन् ।

साहित्यकार विजय सापकोटाले किशोरकिशोरीका संवेग, धारणा, समस्या र असजिला पक्षहरूलाई स्कुल, समाज र परिवार प्रायः कसैले पनि सही हिसाबले विचार नगरिदिँदा उनीहरू धेरैजसोको जीवनले जुन किसिमले सकारात्मक दिशा लिनुपर्ने थियो, त्यो नलिरहेकाले यो उपन्यास लेखेका हुन् । त्यस कारण “उडान” पुस्तक किशोरावस्थाका बालबालिकाका साथसाथै शिक्षक, अभिभावक एवम् समाजका प्रत्येक व्यक्तिले पढ्नुपर्ने आवश्यकता देखिन्छ । किनभने बालबालिकाको कोपिलासरी फक्रँदै गरेको मनसायलाई अझ फक्रन दिई भविष्यमा एउटा सुन्दर फूल बनाउनुमा सबैको भूमिका रहन्छ ।

शिक्षक विद्यार्थीको साथी बन्नु पर्ने, छाउपडी प्रथा, साइबर अपराध, मध्यमवर्गीय परिवारको समस्या, बालमनोविज्ञान, बालशोषण तथा यौन दुव्र्यवहार, विद्यालयमा अनावश्यक राजनीति, पितृसत्तात्मक समाज, किशोकिशोरीहरुको कसैले राम्रोसँग बोल्दैमा अपरिचितलाई पनि अन्धो भई विश्वास गर्ने प्रवृत्ति, मानिसको सिर्जनशील क्षमतालाई बिगारेर आफ्नो फाइदा कमाउन पल्किएका गलत व्यापारीहरूको अमर प्रेमको कथा अनि प्रेम पाउँदैमा संसार नै बदलिने; काम र कर्तव्य पूरा गर्नै नपर्ने जस्ता फिल्म चल्ने प्रवृति, आदिजस्ता पक्षहरूलाई यस पुस्तकमा सरल भाषाशैलीमा उजागर गरिएको छ ।

अन्ततः किशोकिशोरीहरुको समाजद्वारा निर्मित विविध समस्याहरूलाई उदाङ्गो पारेर उनीहरुलाई खुला आकाशमा निस्फिक्री उडान भर्ने प्रेरणा दिने र आम पाठकहरूको मन मस्तिष्कमा उल्लेखनीय ज्ञान प्रदान गरेकाले म तपाईंलाई पनि एक पटक ’विजय सापकोटा’ द्वारा लिखित “उडान” पुस्तक पढ्न सुझाव दिन्छु ।

कक्षा–१०, ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालय÷नवसर्जक साहित्य चौतारी बागमती प्रदेश सदस्य