हेटौँडाः भीम विराग संगीत साहित्य कला प्रतिष्ठानद्वारा ९ जना सम्मानित भएका छन् । हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतिष्ठानले शनिबार हेटौँडामा साहित्य, संगीत, कला र पत्रकारितातर्फका विभिन्न विधामा सम्मानित गरेको हो ।
प्रतिष्ठानले साहित्य पुरस्कारबाट सुनसरीकी कुन्ता शर्मा, संगीत पुरस्कारबाट मकवानपुरका लाल श्रेष्ठ, कला पुरस्कारबाट मकवानपुरकै बीएस राना र पत्रकारितातर्फ ललितपुरका जयदेव भट्टराईलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले उहाँहरुलाई जनही २५ हजार रुपैयाँ राशिसहित पुरस्कृत गरेको हो । यस्तै प्रतिष्ठानले १५ हजार राशिको तुलसीमाया–शिवकुमारी सृजनशील नारी सम्मानबाट मञ्जु खराललाई, १५ हजार राशिको शिला नारी पुरस्कार निरु मगरलाई, २० हजार राशिको रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार पम्फा थापा मगरलाई प्रदान गरेको छ ।
यस्तै १० हजार राशिको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार सीमा मिश्रलाई र १० हजार राशिको अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी अञ्जु धिताललाई प्रदान गरिएको छ । मिश्र मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ भने धिताल बारा जिल्लामा शिक्षकको रुपमा कार्यरत दृष्टिविहिन हुनुहुन्छ । पुरस्कार वितरण कार्यक्रममा भीम विराग संगीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको सभा अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख अतित्थता रहेको थियो ।