प्रगति माली कक्षा–१०, श्रमिक मावि, हेटौँडा–४

सम्माननीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्री कार्यालय, मितिः २०८१/१/१४
बालुवाटार, काठमाडौं

नमस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यू । हजुरलाई चिठ्ठी लेख्न पाउँदा म आज धेरै खुशी र गर्व महसुस गरिरहेकी छु । यस्तो अवसर सबैलाई कहाँ पाउँछ र ? म आज “मैले चाहेको शिक्षा” शीर्षकमा रही हजुरलाई चिठ्ठी लेख्न जाँदैछु ।

हामीहरु सबै नेपालीलाई थाहा भएकै कुरा हो कि तपाईले हाम्रो देश नेपालका निम्ति कति योगदान दिनु भएको छ । हाम्रो नेपालमा शिक्षाको शुरुवात प्राचिनकालदेखि नै भएको थियो । तर त्यस बेला नेपालका सबै विद्यार्थीहरुले राम्रो शिक्षा पाएका थिएनन् । अझ भनौं त्यस बेला त नेपालका अधिकांश बालबालिकाहरुले पढ्न नै पाएका थिएनन् । तर पछि शिक्षाको बिस्तारै विकास हुँदै आएर आज आधुनिक शिक्षा भएको छ । आज शिक्षाको क्षेत्रमा आधुनिकीकरण भएको छ । तर के आज नेपालको शिक्षा रोजगारमूलक छ त ? के नेपालका प्रत्येक विद्यार्थीले नेपालमा रोजगार पाएका छन् त ? मेरो दृष्टिमा नेपालको शिक्षा एक रासायनिक मलको प्रयोग गरी फलाएको फल जस्तै छ । जुन फल आकार र स्वरुपबाट आकर्षक त हुन्छ तर त्यस फल खाँदा पोषण प्राप्त हुने अवस्था छैन । त्यस्तै नेपालको शिक्षामा आधुनिक त छ तर रोजगारमूलक भने छैन । यदि आज नेपालमा पि.एच.डी गरेका विद्यार्थीलाई ब्रह्माण्ड र सारा संसारका बारेमा सोध्यो भने बरु सजिलै जवाफ दिन्छन् तर आफ्नै देशको गाउँघरको बारेमा ज्ञान छैन । त्यस कारण म नेपालको शिक्षा गुुणस्तर भएको हेर्न चाहान्छु ।

तपाईको मातहतका शिक्षा मन्त्रालय र मन्त्री प्रशासनका शिक्षा प्रविधियुक्त, प्रयोगात्मक र व्यवहारिक नभएकोले यधाशिघ्र विश्वविद्यालय र विद्यालयस्तरका पाठ्यक्रम र पाठ्यसामाग्री पुनः निर्धारण गरिदिने र शिक्षकलाई तालिम र प्रविधिमैत्री बनाउन विद्यमान शिक्षा, ऐन, कानुन, नीति–नियम परिवर्तन गरिदिनु हुन चाहना राख्दछु । साथै युवा पलायन र बेरोजगार शिक्षा निर्माण गर्न तत्कालिन खारेज गरिदिनुहुन र आफ्नै देशमा इलम गर्ने र विज्ञान प्रविधिलाई उच्च प्राथमिकता दिनुहुन लागु गरी देशको समृद्धि र विकासको बाटोमा आवश्यक पाइला उचाली दिनुहुन्छ भनी म आशा गर्दछु । प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यू, आजलाई म मेरो कलम बन्द गर्न चाहान्छु । यी महत्वपूर्ण कार्यक्रमद्वारा मैले चिठ्ठी हजुरलाई लेख्न पाएकोमा म हृदयदेखि धेरै खुशी छु र हजुरलाई धेरै धन्यवाद । आशा गर्दछु हजुरबाट सकारात्मक जवाफ आउने छ ।

(“शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२४” अन्तर्गत २०८१ बैशाख १४ गते हेटौँडामा शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरले आयोजना गरेको “मैले चाहेको शिक्षा” शीर्षकमा विद्यार्थीले प्रधानमन्त्रीलाई लेखेको चिठ्ठी ।)