हेटौँडाः हेटौँडा–१७, हटियास्थित राजदेवी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः डेकराज धमला चयन हुनु भएको छ । मंगलबार विद्यालय व्यवस्थापन समितिको बैठकले धमलालाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
फागुन ३० गते सम्पन्न ५७ औं अभिभावक भेलाबाट ४ जना अभिभावकलाई विद्यालय व्यवस्थापन समितिको सदस्य चयन गरेको थियो । अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्यमा डेकराज धमला, कृष्णप्रसाद सञ्जेल, सुशीला आचार्य र टिका कार्की चयन हुनुभएको थियो । निर्वाचित विद्यालय व्यवस्थापन समितिले कृष्ण प्रसाद पराजुली र अनुपा पाठक अर्याललाई सदस्य मनोनित गरिएको विद्यालयका प्रधानाध्यापक दीपक देवकोटाले जानकारी दिनुभएको छ । विद्यालय व्यवस्थापन समितिमा वडा प्रतिनिधी वडा सदस्य कृष्ण बहादुर अधिकारी, शिक्षक प्रतिनिधी केदार रेग्मी रहनुभएको छ ।
अभिभावकको विश्वास, विद्यालयप्रति देखाउने लगाव र शिक्षामा नयाँ सोच साथ अगाडि बढ्ने तत्परताका कारण सर्वसम्मत अध्यक्ष चयन हुन सफल भएको नवनिर्वाचित अध्यक्ष धमलाले बताउनुभयो । अघिल्लो कार्यकालमा समेत विद्यालयको भौतिक, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अघि बढेको हुनाले समितिमा दोस्र्रो कार्यकालका लागि चयन हुन सफल भएको अध्यक्ष धमलाको भनाइ छ । १० कक्षासम्म पठनपाठन हुने राजदेवी माविमा दुई सय दुईजना विद्यार्थी अध्ययनरत छन् ।