एउटा दुधे बालक जब जन्मन्छ, लड्छ, उठ्छ, हिँड्छ अनि दौडन सिक्छ । कैयौं कैयौं चोटहरुको भोगाईबाट उ जवान बन्न पुग्छ । एउटा अब्बल व्यक्ति बनेर कहलाउँछ । हो यात्रा पक्कै सहज थिएन । हाम्रै क्याम्पस पनि आजको हेटौंडा क्याम्पस कहलाउन कैयौं आँधी–बेहरीहरु छलेर अघि बढेको छ । जसरी एउटा सुन्दर फुल फक्रन्छ, भमराहरु व्याप्त रहन पुग्छन्, रस चुस्न उ स्वयम् फक्रिएर कैयौं अरुलाई फक्राउनको निम्ति देखिएको साहस मननयोग्य हुन्छ । अनि त्यही बीच एउटा माली जसको साहसले सम्भव भएको हुन्छ । त्यसरी नै हाम्रो हेटौंडा क्याम्पसलाई आजको यो स्थानसम्म पुग्न सुरुवाती दिनदेखि साहसका हातहरु अघि बढाउन सदैव तत्पर रहने ती मालीहरुलाई यहिँबाट नमन गर्दछु ।

एउटा विश्वासको फुल फुलाएकोमा तपाईं सम्पूर्ण विद्यार्थीलाई आभार प्रकट गर्दछु । अनि यो सबै शैक्षिक माफियाको जगतमा एउटा सामुदायिक क्याम्पस स्थापना गरेर शिक्षाको ज्योति बानी, काँडै–काँडैको बीचमा पनि सुन्दर अस्तित्व झल्काउन सकिन्छ है भन्ने आत्मविश्वास छर्ने ती सम्पूर्णप्रति आभार व्यक्त गर्दछु । त्यही घाँसहरुको बीच आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बिजयी बनाई मेरो सुन्दर अस्तित्वको फुलको सुवास छर्न योग्य बनाउनु भएकोमा मेरो तर्फबाट पनि एक बर्षको समयमा निम्न अनुसारका केही दृश्यलाई सम्झाउनको निम्ति आफ्ना पत्र पत्र फक्राउने क्रममा स्ववियुको कार्यालय व्यवस्थापन, नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम, मकवानपुर जिल्लाको सबै क्याम्पसमा निर्वाचित स्ववियुका पदाधिकारीलाई समेटेर नेतृत्व तथा क्षामता विकास तालिम ग¥यौं ।

विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र सरसफाइको जनचेतना फैलाउँदै क्याम्पस परिसर सरसफाइ तथा वृक्षरोपण, जातीय भेदभाव उन्मुलन दिवसको दिन वक्तृत्वकला प्रतियोगिता, निशुल्क निमावि अध्यापन अनुमती पत्र र बैंकिङको तयारी कक्षा संचालन गरेका थियौं भने विभिन्न चाडपर्वको बेला शुभकामना आदानप्रदान कार्यक्रम, होटल म्यानेजमेन्टका लागि प्रयोगात्मक कक्षा निर्माणको पहल, नयाँ प्राविधिक विषयमा पठनपाठन सञ्चालन गर्ने विषयमा क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएका छौं ।

छात्राहरुको महिनावारीको बेला चाहिने सेनिटरी प्याड व्यवस्थापन, विभिन्न रोग पीडितका लागि विद्यार्थी साथीहरुको खाजा खर्च कटाएर थोरै राहतस्वरुप आर्थिक संकलन र सहयोग गरेका छौं । आर्थिकरुपले विपन्न विद्यार्थीलाई पुस्तक, पोशाक निशूल्क उपलब्ध गराउनुका साथै छात्रवृत्तिको व्यवस्था गर्न सफल भयौं । क्याम्पसको भर्ना अभियानमा हामी सहयोगी भूमिकामा रह्यौं । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन प्रमाणपत्र प्राप्तिपछि विद्यार्थीलाई पिकनिक तथा अतिरिक्त क्रियाकलाप आयोजना गरिएको थियो ।

क्याम्पसको शैक्षिक सुधारका लागि स्ववियुले नतीजाको विश्लेषण तथा पृष्ठपोषणको प्रयास ग¥यौं । शैक्षिक अवलोकन भ्रमणकोरुपमा औद्योगिक क्षेत्रको भ्रमण र परियोजना कार्यका लागि स्थलगत सहभागितामा जाने विद्यार्थीलाई सहयोग र समवन्य गर्ने गरिएको छ । क्याम्पस प्रशासनसँग समन्वयमा अनुशासनमा कडाई गर्दै निरन्तर विद्यार्थीहरु आगमन बढाउन र राम्रो नतिजाका लागि तयारी गराउने प्रयास भएको छ । सरस्वती पुजाको अवसरमा मन्दिर सरसफाई, रंगरोगन र पुजा कार्यक्रम गर्नुका साथै क्याम्पसको वार्षिकोत्सवको अवसरमा विभिन्न खेल महोत्सव, फुड फेस्टिभल र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

लागूऔषध सम्बन्धी स्थानीय संघ, संस्थासँग समन्वय गरेर सचेतना कार्यक्रम गरिएको छ । पढ्दै–कमाउँदै र सिक्दै योजना अन्तर्गत विभिन्न स्कुल, बैंकमा इन्टर्न जाने व्यवस्था मिलाउन पनि स्ववियुको भूमिका महत्वपूर्ण रह्यो । हेटौँडा क्याम्पसबाट अध्ययन पूरा गरी सरकारी सेवामा नाम निकाल्ने विद्यार्थीलाई सम्मान कार्यक्रम ग¥यौं ।

उच्च शिक्षा हासिल गर्न हेटौँडा क्याम्पसलाई रोजेर आउने विद्यार्थीलाई स्वागत र पढाई पूरा गरेका विद्यार्थीलाई बिदाई गर्ने कामलाई परम्पराको रुपमा निरन्तर आयोजना गर्दै आएका छौं । विद्यार्थीको नेतृत्व क्षमता र व्यक्तित्व विकासमा सहयोग पुग्ने गरी अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएका छौं । विद्यार्थी, प्राध्यापक र सञ्चालकको एकताबीच हाम्रो आफ्नो नेतृत्वलाई एकजुट भई ऊर्जा शक्ति प्राप्त गर्ने हेतुले सामुदायिक क्याम्पसलाई पनि अरुसँग प्रतिस्पर्धाको जोडमा ल्याउनको निम्ति स्ववियुले नै विद्यार्थी र क्याम्पस प्रशासनलाई जोड्ने सेतुको काम गर्दै आएको छ ।

विद्यार्थीका लागि नै क्याम्पसका नेतृत्वहरुले सोच्नु पर्छ । अहिले सुनेको छु खर्च कटौती गर्ने बहानामा क्याम्पसमा विद्यार्थीले पढ्ने दैनिक समाचारपत्र, पत्रिका रोकियो रे । जुन क्याम्पसको नाममा खाइने चिया, कफि भन्दा सस्तो छ । यो कुरा स्ववियुलाई मान्य छैन । विद्यार्थीको रचनात्मक विकास र जानकारी संकलनमा कमि आउने काम क्याम्पस प्रशासनबाट हुनु भएन । स्ववियुले यस्तो हुन पनि दिने छैन ।

चे ग्वेभारा अनुसार कुनै पनि नेतालाई भगवान जस्तै मान्नुभन्दा पनि हामी सबै मानव जस्तै ठानियो भने त्यहाँ समानता हुन्छ । हामी सबै समान हुन जरुरी छ । यो विचार नयाँ पुस्ता माझ छर्न जरुरी छ । शिक्षा भन्नाले किताबका अक्षरहरुमा मात्रै भविष्य देख्ने मानसिकताबाट अलि माथि उठेर आफ्नो ईच्छाका विधाहरुले पनि एउटा विद्यार्थीको आगामी यात्रा तय गर्छ भन्ने कुराको ज्वलन्त उदाहरण हामी माझ प्रशस्तै भेटिन्छ । तथापि अझै पनि मन–मनमा विश्वास दिलाउन भने अब्बल भइसकेको छैन । यो कुरामा अडीग रहेर सबैको सामु प्रस्ट्याउने कामको थालनी गर्ने काम पनि हाम्रै हातमा छ । हामीले नै नगरे कसले गर्छ भनेर लाग्नुपर्न । आवश्यक देखिएकैले स्ववियु हरबखत रचनात्मक काम गर्न तयार रहन्छ ।

जसरी धानको खेतबाट अनावश्यक झारहरु उखालेर फ्याँलिन्छन् त्यसैगरी स्वतन्त्र विद्यार्थी युनियन हेटौँडा क्याम्पसले विद्यार्थीको सम्पूर्ण शैक्षिक विकासमा रोकावट ल्याउने त्यस्ता झारहरुलाई उखालेर फाल्ने छ र विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने कार्यलाई स्थापित गर्नेछ । एउटा नेता कस्तो हुनुपर्छ भन्दै विद्यार्थीको आवाज सुन्ने र क्याम्पसको हितको सन्दर्भमा कसैसँग नझुक्ने व्यक्तिले नै एक असल विद्यार्थीको नेतृत्व गर्ने र उसकै नेतृत्वमा कार्य सम्पादन हुनेछ ।

हाम्रा हरेक कार्यक्रम सिकाईका लागि अवसरहरु हुन् । तेजस्वी विद्यार्थीहरुको क्षमता वृद्धिका लागि यो कार्यक्रम अवश्य हाम्रा अनेक कार्यक्रमहरु मध्यको एक कोशेढुङा हो । क्याम्पसलाई नजिकबाट नियाली रहँदा स्ववियुले एउटा यस्तो सेतुको काम गरेको छ जहाँ विद्यार्थीले अभिव्यक्त गर्न नसकेका इच्छा अनि क्याम्पस प्रशासनले चाल्न खोजेको पाईलालाई समेटेर अघि बढेको छ । स्ववियुले विद्यार्थीको मनका गन्थन–मन्थनलाई उच्च कदरको साथ स्थान दिएर सम्बन्धित निकायसम्म पु¥याएको कुरा अवगत नै होला । हिजोदेखि आजसम्म अनि आजदेखी भोलिसम्म हर–दिन हर–पल तपाईं विद्यार्थीको मागलाई कार्यान्वयन, समस्यालाई समाधान र गुनासोको सुनवाई गरेको छ र गर्छ भन्ने कुरामा तपाईं विश्वस्त र ढुक्क हुन अनुरोध गर्दछु ।

हिजो चैत्र ५ अर्थात् यहाँहरुले विद्यार्थीमुखी कामका लागि नेतृत्व, जिम्मेवारी, बैधानिकता प्रदान गर्नुभएको एक बर्ष पूरा भएको दिन क्याम्पसको शैक्षिक वातावरण सुदृढ गर्दै विद्यार्थीलाई शैक्षिक, सामाजिक तथा रचनात्मक गतिविधिमा संलग्न गराउने स्ववियुको उद्देश अनुरुप निरन्तर लागिरहेका छौं । आगामी थप कार्यक्रमहरु पनि सरोकारवालाको सल्लाह, सुझाव साथ सहयोग, आवश्यकता अनुसार गर्दै जानेछौँ । साथै थप साथ सहयोग र सुझाबको अपेक्षा राख्दछु । स्ववियु विद्यार्थीसँगै निरन्तर, अविरल, हरपल रहिरहने नै छ ।