मनोज थिङ प्रिन्सीपल, नवोदय शिशु सदन

सामान्यतया विद्यालयमा शिक्षक र विद्यार्थीको नियमित पठनपाठनको अपेक्षा गरिन्छ । शिक्षकले पढाउने, विद्यार्थीले पढ्ने अभ्यासमा मात्रै सीमित नभई विद्यालयलाई वृहत् सिकाईको थलो बनाउनु पर्नेमा चर्चा बढ्दो छ । यसै सन्दर्भमा शैक्षिक नेतृत्व विषयमा एमफिल तहको अध्ययन पूरा गरी शोधपत्र लेखनको चरणमा रहनुभएका हेटौँडा–४ नवोदय शिशु सदन माविका शैक्षिक निर्देशक मनोज थिङसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः तपाईंले नवोदय शिशु सदनको शैक्षिक निर्देशकको रुपमा काम गरिरहनु भएको छ । समग्रमा विद्यालयको नियमित कामलाई कसरी हेर्नुहुन्छ ? नियमित शैक्षिक क्रियाकलाप के–के भइरहेको छ अहिले ?
थिङः
शैक्षिक निर्देशक भन्नेबित्तिकै सबै शैक्षिक क्रियाकलाप हेर्नुपर्ने हुन्छ । कसरी पठनपाठन भइरहेको छ ? कसरी पाठ्यक्रमहरुको उद्देश्यहरुको क्रियाकलाप भइरहेको छ ? कसरी विद्यार्थीको सिकाइ र उसको मूल्याङ्कन भइरहेको छ ? हामीले पनि त्यसको आफ्नो तर्फबाट छुट्टै नजर राख्नुपर्छ । क्रियाकलापहरु कुन तरिकाबाट भइरहेको छ ? क्यालेन्डरको अभ्यासहरु कुन हिसाबले हुँदैछ र पाठ्यक्रमलाई कसरी पूर्ति गर्दैछौं भन्ने विषय हेर्ने हो खासमा चाहिँ ।

समाजः हामी शैक्षिक सत्रको अन्त्यमा छौं । यो वर्षको गतिविधि, प्रयत्न कस्तो रह््यो ? कस्ता राम्रा उपलब्धीहरु अपेक्षा गर्नुभएको छ ?
थिङः
हाम्रो उद्देश्य भनेको नै विद्यार्थीहरुमा रचनात्मक सोचको विकास गर्नु हो । एक हिसाबले सामाजिक र सीपयुक्त हुनुप¥यो । अहिलेसम्मको हाम्रो नतिजा हेर्ने हो भने हामी सकारात्मक छौं । सँगै अहिले अभिभावकसँग छलफल हुँदैछ । यसबाट पनि अभिभावकहरुको प्रतिक्रिया राम्रो आएको छ ।

समाजः नवोदयले विशेषगरी अभिभावकको भूमिका बढाउने गरेको छ । अभिभावकको कस्तो भूमिका अपेक्षा गर्नुहुन्छ ?
थिङः
नवोदयले विद्यार्थी र शिक्षकको मात्र नभई विद्यार्थीहरुको सही विकासका लागि अभिभावकको पनि भूमिका महत्वपूर्ण छ भन्ने बुझेको छ । त्यसैले हामीले हरेक क्रियाकलापमा अभिभावकको सक्रियता चाहिन्छ भनेर अघि बढेका छौं । पर्याप्त हेरचाह, खानपानजस्ता क्षेत्रमा अभिभावकको भूमिकाको अपेक्षा गरेका हुन्छौं ।

समाजः अभिभावकको बुझाइ के छ ? तपाईंहरुको भनाइलाई कतिको आवश्यक ठानेर ग्रहण गर्नुहुन्छ ?
थिङः
अहिलेसम्म अभिभावकहरुले साथ दिनुभएको अवस्था छ । अहिले हामीकहाँ बालबालिकाको अंकमा नभई व्यवहारमा सुधार चाहनुहुने अभिभावकहरु आउने गर्नुभएकोे छ । उहाँहरुको साथ सहयोग धेरै छ ।

समाजः तपाईंले आफ्नो उच्च शिक्षाका लागि केहि समय विद्यालय छोड्नुभयो र फेरि विद्यालय आउनुभयो । तपाईंले के कस्तो परिवर्तन बोकेर आउनुभएको छ ?
थिङः
समाजको विभिन्न तवरबाट हेर्दा शिक्षा महत्वपूर्ण क्षेत्र हो । समाज बनाउन आवश्यक क्षेत्र नै शिक्षा हो । मैले हाम्रो बुझाईमा सुधार गरेको छु । केही नयाँ कुरा, परिकल्पना बोकेर आएको छु ।

समाजः मकवानपुर जिल्लामा चाहिँ धेरै संख्यामा निजी विद्यालयहरु छन् । सञ्चालकहरुको तर्फबाट कस्तो बुझाइ छ र कस्तो हुन आवश्यक देखिन्छ ?
थिङः
अहिलो करिब–करिब यो क्षेत्रमा लागेको २२ वर्षजति भयो । सबै मैले संस्थागत विद्यालयमा नै काम गरेको छु । फेरि अर्को कुरो जो जोसँग मैले काम गरेँ, धेरै काम गरेँ । शिक्षकचाहिँ विद्यार्थीहरुको सिकाइ पट्टी काम गर्नुपर्छ । उसको ज्ञानचाहिँ पाठ्यक्रममा आधारित र व्यवहारिकरुपमा सीपयुक्त बनाउने हुनुपर्छ भन्ने हिसाबले शिक्षकले सोच्नुपर्छ भन्ने मेरो मान्यता हो । संस्थागत विद्यालयमा शिक्षकलाई तलब खुवाउनुपर्ने र अन्य खर्चको कारणले अलिअलि नाफाको कुरा हेरिन्छ ।

समाजः अहिलेको विद्यार्थीहरुको बुझाइ, विद्यार्थीहरुको क्रियाकलाप, विद्यार्थीहरुको मनोसामाजिक अवस्थाले चाहिँ विद्यार्थीहरुले कति पढ्नका लागि रहर गर्ने वातावरण पाएका छन् वा छैनन् ?
थिङः
कोरोनाभन्दा पहिलो जुन अनुभव थियो, कोरोनापछि विभिन्न डिजिटल प्रविधिको कारणले ध्यान केन्द्रित गर्ने क्षमता कता फरक भएकोजस्तो लागेको छ । पढाइका लागि चाहिँ किताब खोलेर ५ मिनेट पढ्नुपर्ने अवस्थाको सिर्जना गरेको छ । अहिलेको समयमा विद्यार्थीहरु विभिन्न प्रविधिमा, भिडियोहरुमा, भिडियो गेमहरुमा बढी समावेश गरेको पाइएको छ ।

समाजः तपाईंहरुले यो समस्यालाई न्यूनीकरण गरेर पढाइमा ध्यान केन्द्रित गराउनचाहिँ कस्तो प्रकारको नीतिहरु अपनाइरहनुभएको छ ?
थिङः
हामीले विद्यार्थीलाई पढ्न लगाउन वेष्ट रिडर, गुड रिडर र निड रिडर भनेर पुरस्कृत गर्ने गरेका छौं ।

समाजः नयाँ शैक्षिक सत्र पनि डेढ महिनामा सुरु हुँदैछ । नयाँ शैक्षिक सत्रका लागि तपाईंहरुले कस्तो प्रकारको योजनाहरु बनाइरहनुभएको छ ?
थिङः
थुप्रै कुराहरु छ । हामीले विद्यार्थीहरुको कार्यक्रमहरुदेखि पाठ्यक्रमको हाम्रो आन्तरिक मूल्यांकन प्रविधिको हेरफेर गर्न खोजेका छौँ । विद्यार्थीको परीक्षामा पास भएरमात्र भएन । विद्यार्थीले कति पढ्यो, असाइनमेन्ट कति ग¥यो, उसले कतिवटा काम ग¥यो भन्ने कुरामा ध्यान दिनेछौँ ।

समाजः तपाईंहरुले शिक्षकहरुको क्षमता विकास गर्नका लागि केकस्ता कार्यहरु गरिरहनु भएको छ ? शिक्षकहरुमा यो कुराको कमजोरी भयो भन्ने कुरा के छ ?
थिङः
नवोदयले दुईवटा कुराहरुलाई ध्यान दिएको छ । लिडरसिपको, शिक्षकलाई सपोर्ट र यसका लागि डिपार्टमेन्टको सहयोग । विद्यार्थीहरुको प्रस्तुतिलाई मध्यनजर गर्ने, शिक्षकलाई कोड टिचिङ प्रक्रियाबाट र वर्षभरी टिचर प्रोफेसन डिभाइन भन्ने टीपीडी गर्छौँ । विभिन्न शीर्षकमा हामीले लेसन प्लानिङ, कक्षामा कसरी पढाउँदा सहज हुन्छ भन्ने कुरालाई ध्यान दिन्छौँ ।