आँखा परिक्षण गर्दै । फाइल तस्विर ।

हेटौंडाः हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालय परिसरमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय जनाले सेवा लिएका छन् । शनिबार भूटनदेवी एल्मुनाई एसोसिएसनको आयोजना तथा काठमाडौं हार्ट फाउण्डेसनको प्राविधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ८५ जनाले सेवा लिएका हुन् ।

शिविरमा नशा तथा स्नायु रोगसम्बन्धी विषेशज्ञ डाक्टर गोपालरमण शर्मा र मुटुरोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरबाट स्नायु तथा नशारोग सम्बन्धी, मुटुरोग सम्बन्धी, रेडियोलोजिष्ट, अर्थोपेडिक सर्जन, स्त्री तथा प्रस्तुती रोग र जनरल तथा ल्याप्रोस्कोपीसम्बन्धी बिरामीहरुले सेवा लिएको एल्मुनाई एसोसिएसनका महासचिव राजेन्द्र पोखरेलले जानकारी दिनुभएको छ ।

सेवा लिन आउने बिरामीहरुलाई औषधी पनि वितरण गरिएको महासचिव पोखरेलले बताउनुभयो । एसोसिएसनको अध्यक्ष चन्द्रबहादुर थापाको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला क्षेत्र नम्बर २ का सांसद दीपकबहादुर सिंहको विशिष्ट आतिथ्य रहेको थियो ।