प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपस्थित आयोजक ।

हेटौँडाः यही फागुन २२ गतेदेखि नवौँ संस्करणको राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार हेटौँडा भेट्रान्स क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २२ गतेदेखि २६ गतेसम्म हुन लागेको प्रतियोगिताबारे जानकारी गराएको हो ।

हेटौँडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा करिब २२ वटा टिमहरु सहभागी हुने प्रतियोगिता संयोजक प्रशान्त पाख्रिनले जानकारी दिनुभयो । हरेक वर्षजस्तै यो वर्ष पनि खेललाई परम्पराको रुपमा मनाउन र खेलको विकास गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेको संयोजक पाख्रिनले बताउनुभयो । प्रतियोगितामा ४० वर्षभन्दा अधिक उमेर समूहका खेलाडीहरुले मात्र सहभागी जनाउन पाउनेछन् भने २ जना खेलाडीहरु ५० वर्ष उमेर समूहको हुनुपर्नेछ । प्रतियोगिताको खेलतालिकबारे पछि निर्णय गर्ने आयोजकले जनाएको छ ।

नकआउट चरणमा सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, म्यान अफ द म्याच र उत्कृष्ट मिडफिल्डरले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता आयोजनाका लागि हेटौँडा उपमहानगरपालिका, मकवानपुर जिल्ला खेलकुद विकास समिति, मकवानपुर जिल्ला फुटबल संघ, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, रोटरी क्लब अफ मकवानपुर र हेटौँडाका १९ वटा वडाहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ । प्रतियोगिता आयोजनाका लागि करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । गतवर्षको प्रतियोगिताको उपाधि एबीसी भेट्रान्स क्लबले जितेको थियो ।