हेटौँडाः विभिन्न घटनामा रामेछाप, धादिङ र काभ्रेपलाञ्चोक जिल्लाका एकैदिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–९, चिउरीबोटमा ट्याक्टर ब्रेकफेल भई सडकबाट खस्दा ट्याक्टर साहुको मृत्यु भएको छ । मृत्यु हुनेमा ३७ वर्षीय गुणराज श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा तामाकोशीबाट बालुवा लिई ल्याङ्ल्याङतर्फ गइरहेको ना ५ त ६५३६ नम्बरको ट्याक्टर अचानक ब्रेकफेल भई सडकबाट २ सय मिटर तल खस्दा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटना हुँदा चालक रामेछाप नगरपालिका–८, कात्तिके बस्ने २२ वर्षीय मनोज मगरको अवस्था गम्भीर र नगरपालिका–८, ल्याङ्ल्याङ बस्ने २३ वर्षीय चन्द्रबहादुर शाही मध्यम घाइते भएका छन् । घाइते दुबैलाई उपचारका लागि रामेछाप अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
धादिङ जिल्लाको गल्छी गाउँपालिका–८, तेर्सेडाँडामा आगलागीबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाक्रे गाउँपालिका–११, हलदुम बस्ने ५५ वर्षीया भगवती रेग्मी रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार रेग्मी पात टिप्न जाँदा रुखबाट सालको पात भुईमा झारी जम्मा गर्ने क्रममा एक्कासी नजिकै सुकेको पातबाट आगो सल्किन गई शरीरको ६५ प्रतिशत भाग जली घाइते भएकी थिइन् । उपचारका लागि सोही दिन काठमाडौं कीर्तिपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान ११ मृत्यु भएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–८, पचासकिलोमा मोटरसाइकल अनियन्त्रित भई आइचर गाडीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका–७ बस्ने २८ वर्षीय मुरारी कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार अरनिको राजमार्ग सडकखण्डमा दोलालघाटबाट जिरोकिलोतर्फ आउँदै गरेको बा प्र ०२–०३४ प ३३२१ मोटरसाइकल आफैं अनियन्त्रित भई बिपरित दिशाबाट आइरहेको बा ३ ख ७२०४ नम्बरको आइचर गाडीसँग ठोक्किई दुर्घटना हुँदा कार्की र मोटरसाइकलको पछाडि सवार २८ वर्षीय राजन दङ्गाल घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१२, गोठखोला दोभानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका–१३ बस्ने ३० वर्षीय नवीनकुमार साह रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहान ८ बजेको समयमा भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालिमा विद्युत् मर्मत गर्ने क्रममा साहलाई करेन्ट लागि घाइते भएका थिए । घाइते साहलाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याइपुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।