सम्मेलनबारे जानकारी दिनुहुँदै प्रिन्सीपल पुरनबहादुर जोशी ।

हेटौँडाः हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि क्षमता विकाससम्बन्धी दुइ दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । हेटौँडामा फागुन ५ र ६ गते सम्मेलनको आयोजना गरिने सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

विश्वविद्यालय अनुदान आयोग, पुम नेदरल्याण्ड्स सिनियर एक्सपर्ट, नेपाल युवा उद्यमी परिषद्, उद्योग संघ मकवानपुर, किङ्ग्स कलेज लगायत सहआयोजक रहेको सम्मेलनमा हेटौँडा उपमहानगरपालिका, बागमती प्रदेश युवा परिषद्, अन्तर्राष्ट्रिय श्रम संगठन, स्टार्ट अप नेशन २०३० साझेदार संस्थाको रुपमा रहेको छ । सम्मेलनमा २ सय भन्दा बढी सहभागी हुने बताइएको छ । सम्मेलनमा नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन सम्बन्धी कार्यशाला तथा प्रदर्शनीहरु हुने सम्मेलन आयोजक समितिका प्रमुख दिपेश खनालले जानकारी दिनुभएको छ ।

सम्मेलनमा हुने बहसमा सहभागीबीच परिचय स्थापित हुनुका साथै सञ्जाल निर्माण हुने, आविष्कार केन्द्रको स्थापनामा सरोकारवालालाई प्रेरित गर्ने, कार्यरत जनशक्तिको क्षमता विकासमा अभिप्रेरणा रहने अपेक्षा गरिएको खनालले बताउनुभयो । सम्मेलनमा मकवानपुरसँगै काठमाडौं चितवनसँगै विदेशी प्रतिनिधिको पनि सहभागिता रहनेछ । आयोजक संस्था हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसका प्रिन्सीपल पुरनबहादुर जोशीले अन्तर्राष्ट्रिय सम्मेलनलाई हेटौँडाको गौरवको रुपमा सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सम्मेलन आयोजनाका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सहभागी हुनुभएका उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेलले अन्तर्राष्ट्रिय सम्मेलन आधा सफल भइसकेको उल्लेख गर्नुभयो । हेटौँडामा पहिलो पटक यस किसिमको सम्मेलन आयोजना भइरहेको उहाँको भनाई छ । पत्रकार सम्मेलनमा हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।