प्रतियोगिताको उद्घाटन गर्नु हुँदै हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा

हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा हेटौंडामा स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले खेलकुद क्षेत्रको विकास गर्ने कार्यमा उपमहानगरपालिका सधैं अगाडि बढिरहेको बताउनुभयो । खेलकुद क्षेत्रको विकास गर्न स्थानीय तहलाई बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले विद्यालयस्तरबाट उत्पादन भएका खेलाडीहरु प्रदेश हुँदै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । क्रिकेट खेलको विकासका लागि रेफ्री तालिम सञ्चालन गर्ने उहाँले बताउनुभयो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण कार्यलाई अगाडि बढाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

हेटौंडा–४ स्थित हुप्रचौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–२ को बालजागृति बोर्डिङ ८ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जेनिथ इन्टरनेशनल बोर्डिङले ११ ओभर २ बलमा सबै विकेट गुमाएर ४९ रनको लक्ष्य दिएको थियो । जेनिथको तर्फबाट साजन मोक्तानले सर्वाधिक १४ रन बनाएका थिए । आवास थापा, स्वप्निल श्रेष्ठ र हिमेश घलेले समान ४–४ रन बनाएका थिए । बालजागृतिको तर्फबाट अरुण पुरीले ३ विकेट लिएका थिए भने प्रसिद्ध तिमल्सिना र सफल दहालले समान २–२ विकेट लिएका थिए ।

जवाफी व्याटिङ गरेको बालजागृतिले ५ ओभर २ बलमा २ विकेट गुमाएर ५२ रन जोड्न सफल भएको हो । बालजागृतिको तर्फबाट बिनाआउट रोचन बानियाँले १७ र प्रज्ञान सुवेदीले १६ रन जोड्न सफल भएका हुन् । जेनिथ बोर्डिङको तर्फबाट आवास थापाले मात्र २ विकेट लिएका छन् । खेलको म्यान अफ द म्याच बालजागृतिका अरुण पुरी घोषित भएका छन् ।

मंगलबारै भएको दोस्रो खेलमा हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ ८ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयले १३ ओभर २ बलमा सबै विकेट गुमाएर सोलिड्यारिटीलाई ५६ रनको लक्ष्य दिएको थियो । भानु माविको तर्फबाट निश्चल चौलागाईंले २३ रन र प्रकाश लामाले ७ रन बनाएका थिए । सोलिड्यारिटीको तर्फबाट सचिन यादवले सर्वाधिक ३ विकेट लिएका थिए । सत्यम् यादव, रुपेश पटेल र सुरज यादवले समान २–२ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको सोलिड्यारिटी बोर्डिङले ५ ओभर २ बलमा २ विकेट गुमाएर ६३ रन बनाएको थियो । सोलिड्यारिटीका पंकजराज पटेलले सर्वाधिक २७ रन बनाएका थिए । सत्यम् यादवले १४ रन बनाएका थिए भने आदित्य सिंह र नन्द किशोरले समान २–२ रन बनाएका थिए । भानु माविको तर्फबाट प्रकाश लामा र दुल्लभ कुमारले समान १–१ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याद सोलिड्यारिटीका सत्यम् यादव घोषित भएका छन् ।

मकवानपुर जिल्ला क्रिकेट संघका सदस्य संजोक पोखरेलको संयोजकत्वमा सुरु भएको प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत् आज बुधबार ३ खेल हुनेछ । पहिलो खेलमा हेटौंडा–२ स्थित भूटनदेवी माध्यमिक विद्यालय र हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा हेटौंडा–५ स्थित जीएस निकेतन बोर्डिङ र कमाने एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ भने तेस्रो खेलमा बालजागृति बोर्डिङ र हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदनबीच प्रतिस्पर्धा हुनेछ ।

लिग कम नआउटको आधारमा सञ्चालन भएको प्रतियोगिको फाइनल खेल फागुन ५ गते हुनेछ । प्रतियोगितामा समूह चरणको खेल १५ ओभरको हुनेछ भने सेमिफाइनल र फाइनल खेल २० ओभरको हुनेछ । प्रतियोगिता आयोजनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भएको छ । प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका वेष्ट बलर र वेष्ट ब्याट्सम्यानले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेलको म्यान अफ द सिरिज घोषित हुने खेलाडीले ५ हजार रुपैयाँ पाउनेछन् ।

मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीको सभाध्यक्षतामा सुरु भएको प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्गी, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, मकवानपुर जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष वासुलाल श्रेष्ठ र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरणबहादुर जोशीलगायतको आतिथ्य रहेको थियो ।