फाइल तस्वीर ।

हेटौंडाः सिरहा जिल्लाको लहानमा जारी मेयर गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी पराजित भएको छ । मंलबार भएको खेलमा धनकुटा एफसीसँग हेटौंडा फुटबल एकेडेमी २–० गोल अन्तरले पराजित भएको हो ।

पशुपति आदर्श माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा धनकुटाका नितेश मगरले पहिलो हाफको ४ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ३२ औँ मिनेटमा सौर्य राउतले थप एक गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।

हिम कस्तुरी युवा क्लबको आयोजना तथा लहान नगरपालिकाको सहयोगमा प्रतियोगिता भएको हो । प्रतियोगिताको उपाधि विजेता टिम ३ लाख रुपैयाँ र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।