मोतिविन्दुको शल्यक्रियापछि आँखाको पट्टी निकाल्ने तयारी अवस्थामा हेटौँडा सामुदायिक आँखा अस्पताल परिसरमा राखिएका बिरामीहरु । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित हेटौंडा सामुदायिक आँखा अस्पतालले एक वर्षमा एक लाख ३३ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । आँखा अस्पतालले आयोजना गरेको तथा सहयोग गरेको विभिन्न कार्यक्रम, निःशुल्क शिविर, अस्पतालको सेवाबाट सन् २०२३ मा एक लाख ३३ हजार ५ सय ६१ जनाले सेवा प्राप्त गरेको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

२०७९ पुस १७ गतेदेखि २०८० पुस १६ गतेसम्म आँखा अस्पतालले अस्पतालबाट ९३ हजार ९ सय ४८ जनाको आँखा जाँच गरेको छ । अस्पतालले ६ हजार ६ सय २ जनालाई निःशुल्क सेवासमेत दिएको छ । यस्तै, अस्पतालले एक वर्षमा २ हजार ४ सय ४६ जनाको शल्यक्रिया गरेको छ भने २ हजार ४ सय जनाको निःशुल्क शल्यक्रिया गरेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार गतवर्ष अस्पतालको सहयोगमा संघसंस्थाहरुले ९ हजार ६ सय ५९ जनाको आँखा जाँच गरेको थियो । अस्पतालले विभिन्न कार्यक्रम आयोजना तथा सहयोग गरी २७ हजार ९ सय ५४ जनाको निःशुल्क आँखा जाँच गरेको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालले सन् २०२३ मा जटिल शल्यक्रिया ५ हजार २५ वटा र सामान्य शल्यक्रिया एक हजार ५ सय ७७ वटा गरेको व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

आँखा अस्पतालले मकवानपुर जिल्लाबाहेक बारा, पर्सा, रोतहट, सर्लाही, सिन्धुलीलगायत जिल्लाका दुर्गम गाउँबस्तीहरुमा निःशुल्क शिविर आयोजना गरेको थियो । यस्तै, सामुदायिक आँखा अस्पतालले माघ र फागुन महिनामा विभिन्न स्थानमा महिनाको दुईपटक शिविर आयोजना गर्ने भएको छ ।

श्रेष्ठका अनुसार सन् २०२३ मा जाँच गरिएका बिरामीहरुमा मोतिविन्दु, एलर्जी, चस्मादोष लगायतका समस्या धेरै देखिएको थियो । हेटौंडा सामुदायिक आँखा अस्पतालमा ५० प्रतिशत भन्दा बढी बिरामी बीमाबाट जाँच गर्न आउने गरेको श्रेष्ठले जानकारी दिनुभयो । आँखा अस्पतालका प्रमुख डा. सुनिल थकालीका अनुसार अहिलेको समयमा धेरै बिरामी पहिलो चस्मादोष, दोस्रो सुख्खापन र तेस्रो मोतिविन्दुका आउने गरेका छन् ।

अस्पतालमा बिरामीको चाप गर्मीमा भन्दा जाडोमा कम रहेको छ । आँखा अस्पतालमा गर्मी महिनामा दैनिक ३ सयदेखि ३ सय ५० को हारहारीमा बिरामी आउने गरेकोमा जाडो महिनामा दैनिक २ सयको हाराहारीमा बिरामी आइरहेको डा. थकालीले जानकारी दिनुभयो । अस्पतालमा आउने बिरामीमा बालबालिकामा चस्मा लगाउनुपर्ने, युवामा दृष्टिदोष र बुढ्यौलीमा मोतिविन्दु, चस्मा तथा उमेर–सम्बन्धित म्याकुलर डिजेनेरेशन (पर्दा) को समस्या देखिने गरेको छ । डा. थकालीका अनुसार पर्दाजस्ता समस्या ५० कटेपछि धेरै देखिने गर्दछ । सामुदायिक आँखा अस्पतालले पर्दाको जटिल स्थित भएका बिरामीलाई थप उपचारका लागि काठमाडौं पठाउने गरेको छ । अस्पतालले जोखिममा राखेर कसैको पनि शल्यक्रिया गर्ने नगरेको डा. थकालीले बताउनुभयो ।

उहाँका अनुसार भाइरल ज्वरोका कारण आँखा पाक्ने समस्या देखिन सक्छ । अस्पतालमा आउने बिरामीले शल्यक्रिया जाडोमा गर्दा नपाक्ने भ्रम लिएर आउने गरेका छन् । जाडोमा शल्यक्रिया गर्दा आँखा नपाक्ने कुरा एक भ्रम रहेको र शल्यक्रिया गरेपछि स्वच्छता कायम गरे आँखा नपाक्ने डा. थकालीले प्रष्ट पार्नुभयो । हेटौंडा सामुदायिक आँखा अस्पतालमा हप्तामा ४ दिन शल्यक्रिया हुने गरेको छ । अस्पतालमा शुक्रबार र आइतबारबाहेक अन्य ४ दिन शल्यक्रिया हुने गरेको उहाँले जानकारी दिनुभयो । सामुदायिक आँखा अस्पतालबाट ३ जना विशेषज्ञ डाक्टरले सेवा प्रदान गरिरहनु भएको छ ।