जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राहदानी बनाउन आएका सेवाग्राही ।

हेटौँडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राहदानी बनाउन आउने मानिसको संख्या घट्दै गएको छ । विगतका दिनहरुको तुलनामा मंगलबार कार्यालयमा राहदानी बनाउन आउनेको संख्या कम पाइएको हो । मंगलबार विहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउने सेवाग्राही १५ जनामात्र थिए । अघिल्ला दिनहरुमा राहदानी बनाउन आउने सेवाग्राहीको संख्या ५० देखि ८० जनाको हाराहारीमा हुने गरेकोमा मंगलबार ८ जना महिला र ७ जना पुरुषमात्र राहदानी बनाउन आएका हुन् ।

अघिल्लो दिन माघे संक्रान्ति पर्व परेको कारण पनि मंगलबार राहदानी बनाउन आउने सेवाग्राहीको संख्या कम भएको हुनसक्ने जिल्ला प्रशासनका कर्मचारीको भनाइ छ । चाडपर्वको समयमा मानिस घरमै बस्ने भएकाले राहदानी लिन आउनेको संख्या घटेको हुनसक्ने उहाँको अनुमान छ । अघिल्ला दिनहरुमा जिल्ला प्रशासनमा राहदानी लिने आउनेहरुको घुइँचो लाग्ने गरेकोमा मंगलबार आधाभन्दा बढी संख्या घटेको पाइएको छ ।

विदेश गएपछि नेपालमा भन्दा बढी पैसा कमाउन सकिन्छ भन्ने आशाले राहदानी बनाउन आएको सेवाग्राहीले बताएका छन् । राहदानी लिन आउनेहरुको संख्या कम भएता पनि नागरिकता लिन आउनेहरुको संख्या भने उल्लेख्य पाइएको छ । मंगलबार जिल्लाका विभिन्न ठाउँबाट नागरिकता बनाउन आउनेहरुको संख्या ७० जनाको हाराहारीमा देखिएको थियो । नागरिकता फाँटमा आएका सेवाग्राही नयाँ नागरिकता बनाउन र नागरिकताको प्रतिलिपि लिन आउनेहरु रहेका थिए । यस्तै, जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउनेहरुको संख्या भने मंगलबार अन्य दिनमा जस्तै रहेको जिल्ला प्रशासनका कर्मचारीको भनाइ छ । राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको संख्या करिब ५० जना थियो ।

नागरिकता बनाउनका लागि वडा कार्यालयको सिफारिसहितको निवेदन हुनुपर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । नागरिकताका लागि हालसालै खिचिएको तस्वीर हुनुपर्ने जनाइएको छ । राष्ट्रिय परिचयपत्र बनाउन आफ्नो फारममा भएको व्यक्तिगत विवरणलाई राम्रोसँग समावेश गर्नुपर्ने जनाइएको छ । राष्ट्रिय परिचयपत्रको लागि सम्बन्धित व्यक्तिको आवश्यक कागजात हुनुपर्छ ।