बीमआई मेसिनको उद्घाटन गर्नुहुँदै स्वास्थ्यमन्त्री उत्तम जोशी ।

हेटौंडाः बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वचालित उच्च रक्तचाप मापन मेसिन सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बिच मन्त्रालय परिसरमा उच्च रक्तचाप मापन मेसिन (अटोमेटिक डिजिटल बीमआई मेसिन) सञ्चालनमा ल्याएको हो ।

आम नागरिकहरुमा सचेतना जगाउने उद्देश्यअनुरुप विश्व स्वास्थ्य संगठनको सहयोगमा अटोमेटिक डिजिटल ब्लडप्रेसर मापन मेसिन सञ्चालनमा ल्याएको छ । नेपालमा करिब ४७ लाख मानिसहरुमा उच्च रक्तचापको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये १० लाख मानिसले मात्र नियमितरुपमा रक्तचाप जाँच गर्ने र अवस्थाको बारेमा जानकारी लिने गरेको मन्त्रालयले जनाएको छ । जाँच गर्ने १० लाख मानिसहरुमध्ये ४ लाख मानिसले उच्च रक्तचापको औषधि सेवन गर्ने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । औषधि सेवन गर्नेहरुमध्ये २ लाख जना मानिसमा उच्च रक्तचाप नियन्त्रणमा रहेको जनाइएको छ ।

तथ्यांकअनुसार उच्च रक्तचापसम्बन्धी समस्या निकै जटिल चुनौतीको रुपमा देखापरेको स्वास्थ्य मन्त्री उत्तम जोशीले बताउनुभयो । चुनौतीको व्यवस्थापनका लागि सरोकारवालाहरुको सक्रिय सहभागिता र योगदान आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । उच्च रक्तचाप सम्बन्धी समस्या समाधानका लागि मन्त्रालयले स्वास्थ्य शिक्षा तथा परामर्शबाट अस्वस्थकर बानी व्यवहारमा परिवर्तन गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ । सुर्तीजन्य पदार्थको प्रयोग, मद्यपान, निष्क्रिय जीवनशैली, अस्वस्थकर खानपान आदि परिवर्तन गरी स्वस्थकर जीवनशैली अपनाउन उहाँले आग्रह गर्नुभयो ।

मध्यम आय तथा विकासशील राष्ट्रहरुमा उच्च रक्तचापका कारण हुने जटिलताहरु मानवीय क्षतिको मुख्य कारण बनिरहेको मन्त्री जोशीले बताउनुभयो । उक्त रक्तचापका कारण मस्तिष्कघात, हृदयाघात, मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ मिर्गौला रोगका कारण मानिसहरुको मृत्यु भइरहेको भन्दै उहाँले सो रोगहरुको व्यवस्थापनमा राज्यले ठूलो धनराशी खर्च गर्नुपरेको बताउनुभयो ।

मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषालका अनुसार सरकारले नसर्ने रोगहरुबाट हुने मृत्युदर सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्यअनुसार काम गरिरहेको र सो लक्ष्य प्राप्तिका लागि विभिन्न कार्ययोजना, रणनीति तथा कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । सरकारले लिएको लक्ष्य प्राप्तिका लागि उच्च रक्तचापबाट हुने मृत्युदरको भार २५ प्रतिशतले घटाउन अनिवार्य रहेको छ ।