हेटौंडाः हेटौंडा–१३ स्थित पदमपोखरी अस्पतालले बुधबारदेखि मेडिकल अधिकृत डा. निशान अर्यालद्वारा सेवा सुरु गरेकोे छ । पदमपोखरी स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै हेटौंडा उपमहानगरपालिकाले पदमपोखरी अस्पताल बनाएपछि डा. अर्यालबाट सेवाग्राहीलाई सेवा दिन सुरु गरेको हो ।
बुधबार डा. अर्याललाई हेटौंडा उपमहानगरपालिका–१३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यमा अस्पतालमा स्वागत गरिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला चौलागाईले जानकारी दिनुभयो । चौलागाईका अनुसार स्वातम कार्यक्रममा वडा विकास समिति, स्वास्थ्य व्यवस्थापन समिति तथा अस्पतालका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
अस्पतालमा डा. अर्यालका साथ स्टाफ नर्स बास्ना लामा स्याङ्तानको पनि आगमन भएको छ । पदमपोखरी अस्पतालले पहिलो चरणमा ओपीडीको सेवा प्रदान गरिरहेको छ । अस्पतालको अर्को लक्ष्य इमर्जेन्सी, प्रयोशाला, ५ शैयाको वार्ड र बीमा सुचारु गर्ने रहेको डा. अर्यालले जानकारी दिनुभयो ।
अस्पतालले ओपीडीमा दैनिक २०–२५ जना जाँच गर्न आउने गरेका छन् । डा. अर्यालले पहिला हेटौंडा अस्पतालको इमर्जेन्सी विभागमा सेवाग्राहीलाई सेवा प्रदान गर्नुहुन्थ्यो । उहाँले हेटौंडा अस्पतालमा राजीनामा दिएर स्थानीयमा सेवा दिन आउनु भएको हो ।
अन्य जिल्लाहरुको नगरमा स्थानीय अस्पताल राम्रो भएजस्तै हेटौंडा उपमहानगरपालिकाको पनि स्थानीय अस्पतालको स्तरवृद्धि गर्दै जाने अपेक्षा रहेको डा. अर्यालले बताउनुभयो । सुरुमा सेवाको लागि अस्पताल हुनुपर्ने भन्दै उहाँले अस्पतालमा प्राथमिक हेरचाह, प्रमुख रोकथामका अनुसार काम गर्ने बताउनुभएको छ । ओपीडीमा चाहिने लगभग सबै सामान आएको डा. अर्यालले बताउनुभयो ।
अहिले पदमपोखरीमा डा. अर्यालका साथ एक जना इन्चार्ज, प्यारामेट्रिक, २ जना नर्सिङ स्टाफ, प्रयोगशाला सहायक र कार्यालय सहायकले सेवा प्रदान गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिकाले नगर अस्पतालका लागि मेडिकल अधिकृत नियुक्त गर्न लिएको लिखित परीक्षामा डा. अर्याल उत्तीर्ण हुनुभएको थियो ।