हेटौंडाः बालविवाह, बालश्रम र लागूऔषध प्रयोग, ओसारप्रसार विरुद्धमा एवम् बाल अधिकार संरक्षण सम्बन्धमा प्रदेशस्तरीय एक दिवसीय अन्तरक्रिया कार्यक्रम भएको छ । बिहीबार हेटौंडामा सामाजिक विकास मन्त्रालयको संयोजन र बाल कल्याण समाज मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा बाल कल्याण समाज मकवानपुरका संयोजक प्रकाश खतिवडाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा समाजिक विकासमन्त्री मोक्तानले सामाजिक विकास मन्त्रालयले बालबालिका, महिला, जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने जानकारी गराउँदै महिला बेचबिखन, जेष्ठ नागरिकको क्षेत्रमा कानुन निर्माण भएको र बालबालिकाको क्षेत्रमा कानुन निर्माणको चरणमा रहेको बताउनुभयो । शहरमा मानिस धेरै हुने भएकाले बालश्रम शोषण धेरै हुने गरेको उहाँले बताउनुभयो ।
नीतिगत हिसाबले मन्त्रालयले बालबालिकाको क्षेत्रमा गर्नुपर्ने कामलाई अगाडि बढाएको बताउँदै मन्त्री मुक्तानले बालविवाह, बालश्रम र लागूूऔषध प्रयोगलाई न्यूनीकरण गर्दै अगाडि बढेको धारणा राख्नुभयो । खुला सीमा भएकाले भारतबाट समेत बालबालिका आएर विभिन्न क्षेत्रमा काम गर्ने गरेकाले बालश्रम भइरहेको उहाँको भनाई छ । बागमती प्रदेश सरकारले स्थानीय सारकारसँग जोडिएर बालविवाह, बालश्रम न्यूनीकरणमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
सरकारले सन् २०२७ सम्ममा नेपाललाई बालश्रममुक्त बनाउने नीति लिएको बताउँदै प्रदेश युवा परिषदका उपाध्यक्ष सान्तोष चौलागाईले बालविवाह, बालश्रम र लागूऔषध प्रयोगलाई न्यूनीकरण गर्न आफू लागिपर्ने बताउनुभयो । कार्यक्रममा सामाजिक विकास माहाशाखा प्रमुख गोपालप्रसाद पौडेलले पहिलेको समयमा घरपरिवारले कम उमेरमा विवाह गरेर पठाउनेमा अहिले विपरित भई आफूखुशी नै विवाह गर्नाले बालविवाहको घटना बढ्दै गएको जानकारी गराउनुभयो ।
बागमती प्रदेश सरकार बालविवाह, बालश्रम न्यूनीकरण गर्न प्रदेशको जिल्लामा गएर बालबालिकाको क्षेत्रमा कार्य गर्ने जानकारी गराउँदै ११९ वटै स्थानीय तहमा जाने बताउनुभयो । महाशाखा प्रमुख पौडेलले कार्यक्रममा बालविवाह, बालश्रम र लागूऔषध प्रयोगलाई न्यूनीकरण गर्न आइपरेका अवसर र चुनौतीको बारेमा छलफल हुने जानकारी दिनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगपालिका–१० का वडा अध्यक्ष फुुर्वा दोर्जे लामाले बालश्रम अन्त्य गर्न वडा कार्यालय लागि परेको बताउनुभयो । बालश्रम होटल, ग्यारेजमा धेरै हुने गरेकाले व्यवसायीहरुले नै बालश्रम गराउने गरेको उहाँको भनाइ छ । कार्यक्रममा श्रम तथा रोजगार कार्यालय हेटौंडाका प्रमुख छन्दनारायण श्रेष्ठले विभिन्न निकायको सहयोगमा बालश्रम कम हुँदै गएको बताउनुभयो । पछिल्लो समय बालविवाह, बालश्रमको विषयमा मानिस सचेत भएको तर निरीक्षण हुन नसकेको उहाँको भनाइ छ ।
कार्यक्रममा बाल कल्याण मकवानपुरका अध्यक्ष खतिवडाले प्रदेशलाई बालमैत्री प्रदेश बनाउन आफू लागिपरेको जानकारी गराउँदै बागमती प्रदेशले बालबालिकाको क्षेत्रमा नीति निर्माणको कार्यमा लागेको बताउनुभयो । प्रदेश बालमैत्री हुन बालविवाह, बालश्रममुक्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो । बालबालिकाको क्षेत्रमा काम गर्न प्रत्येक पालिकालाई प्रदेश सरकारले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेकोसमेत उहाँँले जानकारी दिनुभयो । हेटौंडा बागमती प्रदेशको राजधानी भएता पनि भारतसँगको नाका नजिकै भएकाले लागूऔषध प्रयोगकर्ता बढेको खतिवडाले बताउनुभयो ।
कार्यक्रममा बाल अधिकार र कानुन, ऐन नियम, बाल संरक्षण र बाल अधिकारको कार्यान्वयनमा स्थानीय तहका कार्य र बालविवाह, बालश्रम के हो र यसको प्रभाव र समस्या, न्यूनीकरणमा प्रदेश, स्थानीय तहको भूमिकाको बारेमा छलफलको थियो । जिल्ला समन्वय समितिका सदस्य तारा ढुङ्गाना, सामाजिक विकास मन्त्रालयका महिला बालबालिका महाशाखा प्रमुख अमृत अधिकारीलगायत प्रदेशका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।