हेटौंडा उपमहानगरपालिका र हेटौँडा जस्तै देशका सात सय ५३ वटै पालिकाहरु संविधानले परिकल्पना गरेको नेपाली नागरिकको तल्लो तहको सरकार हो । हिजोका दिनमा पनि राज्य व्यवस्थाले नागरिकको सेवामा तल्लो तहसम्म आफ्ना संरचना विकास नगरेको होइन । तर, नेपालको संविधान २०७२ ले परिकल्पना गरेको स्थानीय सरकार भने सरकारको पूर्ण संरचनासहितको सरकार हो । वर्तमान स्थानीय सरकार आफैंमा कानुन निर्माण गर्नेदेखि कानुन कार्यान्वयन गर्ने र कार्यान्वयन गरिएका कामकारवाहीको नियमित अनुगमन समेत गर्ने गरी अधिकार प्राप्त छ । तर, नेपालका अधिकांश स्थानीय सरकारले आफूलाई शक्तिशाली र जनताप्रति उत्तरदायी बनाउन सकेको छैन । बरु प्राप्त अधिकारलाई कसरी आफू अनुकुल हुने गरी सीमित लाभको लोभबाट प्रेरित भएको देखिन्छ । यसले स्थानीय सरकारको प्रभावकारिता देखिएको छैन । अर्कोतर्फ आम नागरिकमा निराशा पनि पैदा भएको छ ।

केही समययता हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकका निर्णय सार्वजनिक नभएको भनी हामीले निरन्तर झक्झक्याउने प्रयास गर्यौं । जनप्रतिनिधि र जनसेवक कर्मचारीको संयुक्त संरचनाको रुपमा रहेको स्थानीय सरकारले के कस्ता निर्णय गरे भनेर जान्ने अधिकार आम जनतालाई छ । जनप्रतिनिधि र जनसेवकले के गरे भनेर जान्न पाउने नागरिकको अधिकारभन्दा अझ महत्वपूर्ण पक्ष त जनप्रतिनिधि र जनसेवकले आफूले गरेका निर्णयहरु जनतासम्म पुर्याउनु उनीहरुको जिम्मेवारीको विषय पनि हो । जनताका कुरा सुन्ने, बुझ्ने अनि जनअपेक्षाअनुसारको काम गर्ने सरकारको दायित्व हो । यदि जनताका कुरा सुन्दै, बुझ्दै गरेका निर्णयमा पनि कुनै किसिमको अपूर्णता र कमिकमजोरी भएको हुन सक्छ, त्यसलाई सच्याएर समेत जनअपेक्षा पूरा गर्नु जनप्रतिनिधि र कर्मचारी प्रशासनको जिम्मेवारी हो । यत्ति कुरा हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी र कर्मचारी प्रशासनलाई बुझाउन हामीलाई ठूलै लडाइँ लड्नु परेको जस्तै भयो । यद्यपि हामीले स्थानीय सरकारलाई जिम्मेवार हुन प्रेरित गर्नुपर्छ भनेर निरन्तर घच्घच्याइरह्यौं ।

अन्ततः आइतबार हेटौँडा उपमहानगरपालिकाले गत शुक्रबार बसेको कार्यपालिकाका बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । ११ बुँदामा कार्यपालिकाका निर्णयहरुको सार मात्रै सार्वजनिक भएका छन् । त्यसको विस्तृत विवरणबारे स्थानीय सरकारले अझ नगरवासीलाई बुझाउन सक्नुपर्छ । जनप्रतिनिधि र कर्मचारी जिम्मेवार हुँदा मात्रै हामीले आत्मसाथ गरेको विधि, प्रणाली सफल हुन सक्छ । हामीले आत्मसाथ गरेका विधि र प्रणालीमा यदि कुनै किसिमको सुधार आवश्यक छ भने पनि त्यसका लागि जनप्रतिनिधि र कर्मचारीतन्त्र जिम्मेवार हुनैपर्छ । हामीले हाम्रो स्थानीय तहको एउटा महत्वपूर्ण विषयलाई जिम्मेवार भएर उठान गर्दै गर्दा ढिलै भए पनि जनप्रतिनिधि र कर्मचारी प्रशासनले अपेक्षित काम गर्नुले भोलिका दिनमा हामीलाई अझ बढी जिम्मेवार भएर जनप्रतिनिधि र कर्मचारीतन्त्रलाई अगाडि बढ्न, बढाउन आफ्नो भूमिका निर्वाह गर्न प्रेरित गरेको छ । आशा छ हेटौँडा उपमहानगरपालिकाले आफूलाई जिम्मेवार भएर प्रस्तुत गर्नेछ ।

हाम्रो प्रणालीमा रहेका जनप्रतिनिधि र कर्मचारीतन्त्रले जिम्मेवार भएर काम नगरेकै कारण आज विधि र प्रणालीमाथि नै दोषारोपण भइरहेको छ । विधि र प्रणाली जति नै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी प्राप्त गरेकाहरुले जिम्मेवार भएर काम गरिदिएन भने सिंगो विधि र प्रणाली नै असफलतातर्फ जाने निश्चित छ । अहिलेको सन्दर्भमा नेपालमा पनि विधि र प्रणालीमाथि नै प्रश्न उठिरहेको छ । हाम्रा सरकारहरुले आफ्ना निर्णय समेत सार्वजनिक गर्ने जिम्मेवारीलाई नबुझ्दा लोकतन्त्रजस्तो असाध्यै जिम्मेवार प्रणालीलाई कसरी सम्हाल्न सक्छन् ? विधि र प्रणालीलाई बुझ्ने क्षमताका प्रतिनिधि र कर्मचारीतन्त्र नहुनु नै अहिले विधि र प्रणालीमाथि दोषारोपणको मूल कारण हो । आम नागरिकको तहमा पनि जनप्रतिनिधि र कर्मचारीतन्त्रमाथि प्रश्न गर्ने, खबरदारी गर्ने हिम्मत जरुरी छ । आशा छ आगामी दिनमा हामी सञ्चार माध्यमले मात्रै होइन, हरेक नगरवासीले जनप्रतिनिधि र कर्मचारीलाई जिम्मेवार हुन नियमित प्रश्न गरिरहनुपर्छ । ढिलै भए पनि हेटौँडा उपमहानगरले सकारात्मक संकेत देखाएको छ । आगामी दिनमा उपमहानगर अझ जिम्मेवार भएर प्रस्तुत हुने आशा गरौं ।