हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाको अस्पतालमा जनशक्ति अभाव रहेको छ । गाउँपालिकाको एकमात्र अस्पतालमा जनशक्तिको अभाव रहेको अस्पतालकी मेडिकल अधिकृत डा. गजल पन्तले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकामा घर भए पनि डा. गजलले अस्पतालको क्वार्टरमै बसेर सेवा प्रदान गरिरहनुभएको छ । डा. पन्तका अनुसार अस्पताल आधारभूत भएकाले बिरामी सामान्य जाँच गर्न आउने गरेका छन् । अस्पतालको ओपीडीमा दैनिक २० देखि ३० जना स्वास्थ्य जाँच गराउन आउने गरेका छन् ।
आधारभूत अस्पताल भएपनि अस्पतालले प्रसुती सेवा, प्रयोगशाला, नाक, कान, घाँटीसम्बन्धी स्वास्थ्य परीक्षण र उपचार सेवा प्रदान गरिरहेको छ । गाउँपालिकाको अस्पतालमा धेरै बालबालिकाहरु ज्वरो, रुघाखोकीको समस्या भएर आउने गरेका छन् । डा. पन्तका अनुसार अस्पतालको भवन तथा सामग्री भए पनि अस्पताल पूर्ण सञ्चालनमा आएको छैन । राक्सिराङ अस्पतालबाट दैनिक एकदेखि दुईजना बिरामीलाई रिफर गर्नुपर्ने डा. पन्तले बताउनुभयो ।
अस्पतालले रिफर गर्नुपर्ने बिरामीलाई नजिकको मनहरी अस्पताल पठाउने गरिएको छ । राक्सिराङ अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको डा. पन्तले जानकारी दिनुभएको छ । अस्पतालले संघीय सरकार र गाउँपालिकाले दिएको बजेटले औषधी खरिद गर्दा कहिलेकाहीँ समस्या आउने गरेको उहाँले बताउनुभयो ।
राक्सिराङ गाउँपालिकामा एक अस्पताल र तीन वटा स्वास्थ्यचौकी रहेका छन् । डा. पन्तका अनुसार अस्पतालमा अहिले पूर्वाधार र जनशक्तिको समस्या रहेको छ । डा. पन्तसहित अस्पतालमा २ जना अनमी, २ जना प्रयोगशाला सहायक, एक जना अहेव र २ जना कार्यालय सहयोगी कार्यरत छन् ।