हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा कार्यक्रम सोमबार हेटौँडामा भएको छ । समीक्षामा जिल्लाका १० वटै स्थानीय तहको सहभागिता रहेको थियो ।
स्थानीय तहहरुले गरेका काम, काम गर्दा आएका समस्या र आगामी दिनमा स्थानीय तहले गरेका अपेक्षाका बारेमा प्रस्तुतीकरण गरेका थिए । सबै पालिकाको प्रस्तुतीमा नदिजन्य पदार्थको राजश्व संकलनमा समस्या औँल्याइएको थियो । नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवाको कार्य नियमित सञ्चालनमा रहे पनि सञ्चार माध्यमले एकतर्फीरुपमा समाचार प्रकाशन गर्नाले काममा असहज भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । मकवानपुरका स्थानीय तहका मुख्य राजश्व संकलन नै नदिजन्य पदार्थ भएको बताउनुहुँदै काम चलिरहँदा अख्तियारमा उजुरी पर्ने जस्ता समस्याले काममा समस्या आउने गरेको उहाँले गुनासो गर्नुभयो ।
संघीय कानुनसँग बाझिदा काम गर्न समस्या भएको स्थानीय तहहरुले उल्लेख गरेका छन् । संघीय ऐन, प्रदेश ऐन र स्थानीय ऐनमा तालमेल हुन नसकेकोले समस्या आएको स्थानीय तहको गुनासो रहेको छ । संघीय सरकारले विकास निर्माणको कममा उपभोक्ता समितिलाई काममा लगाउने तर बजेट समयमा नपठाउँदा स्थानीय तहका जनप्रतिनिधिहरुलाई समस्या परेको समेत अध्यक्ष लामाले बताउनुभयो ।
समीक्षा कार्यक्रममा ११ जनालाई सम्मान गरिएको छ । समाजसेवीतर्फ थाहा नगरपालिकाका यादवजंग रायमाझी, सहकारीतर्फ जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेड, श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड, गैससतर्फ हेटौंडा उमपहानगरपालिकाको ग्रामीण जीवनस्तर सुधार मञ्च, कर्मचारीतर्फ कैलाश गाउँपालिकाका अनमी आशा कुमारी गुरुङ झा, बकैया गाउँपालिकाका मनिषा पराजुली, जिसस मकवानपुरका अमृता खनाल सम्मानित हुनुभएको छ । यस्तै, खेलतर्फ कराँतेमा थाहा नगरपालिकाका मान सिं दोङ, सामुदायिक वन मनहरी मकवानपुरका सिमपानी देवकोट समुदायिक वन उपभोक्ता समिति, शिक्षातर्फ इन्द्रसरोवर गाउँपालिकाको चन्द्र आधारभुत विद्यालय र साना किसान महिला उद्यमीतर्फ गीता मैनाली सम्मानित हुनुभएको छ ।
बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एका लाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक अनिल कार्की, स्थानीय तहका प्रमुख, उपप्रमुख, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।