मुलुक बन्दाबन्दीमा परेको दुई महिना भन्दा बढी भएको छ । कोरोना महामारी संक्रमण नियन्त्रणका लागि बन्दाबन्दी गरिएको हो । रोग नियन्त्रणको सबैभन्दा पहिलो शर्त नै दुरी कायम हो । यसकै लागि सरकारले सम्पूर्ण क्षेत्रमा प्रतिवन्ध लगाएको छ । लकडाउन सकारात्मक कदम हुँदाहुँदै पनि यसको विकल्पमा पनि सोँच्नुपर्ने समय आएको छ । नेपालमा लकडाउन सुरु गर्दा दुईजना कोरोना संक्रमित थिए भने लकडाउन यथावत छ तर संक्रमितको संख्या दुई हजारको नजिक पुगिसकेको छ । परीक्षणको दायरा बढाउन सकेको भए संक्रमितको संख्या अझै बढ्ने निश्चित छ । त्यसैले नागरिक जीवन बन्द गरेर मात्र रोक नियन्त्रण नहुँदोरहेछ । यसको अर्थ पूर्ववत अवस्था नै हुनु पर्दछ भन्ने कदापी होईन । तर अव बन्दाबन्दीको स्वरुप परिमार्जन आवश्यक भएको कुरा नागरिकदेखि व्यवसायीले समेत माग गरेका छन् ।
रोग भन्दा भोकको चिन्ता भएको भन्दै मकवानपुरका व्यवसायीहरुले बजार खुल्ला गर्ने विषयमा सकारात्मक निर्णय गर्न आग्रह गरेका छन् । उनीहरुको आग्रह व्यावसायिक उद्देश्यबाट भएको हो । तर नागरिकप्रतिको जिम्मेवारी पनि हुने गर्दछ । त्यसैले आवश्यक सुरक्षा सावधानीका लागि अनुरोध गरिएको छ । सम्बन्धित निकायबाट उचित प्रवन्ध भए आफुहरु व्यवसाय सुचारु गर्न अग्रसर भएको सन्देश व्यवसायीहरुले दिएका छन् । लकडाउनकै अवधिमा पनि आवश्यक सुरक्षा सतर्कता कायम गरी व्यवसाय सुचारु गर्न, गराउन स्थानीय प्रशासनसँग छलफल हुनु पर्दछ । बजार खोल्दा हुने जोखिमको अनुमान गर्न सक्नु पर्दछ । वातावरणलाई सधैं आतंकित बनाउने भन्दा पनि जनजीवन सहज बनाउन आवश्यक छ ।
हेटौंडाका खाद्यान्न तथा तरकारीजन्य पसलहरु बिहान ९ बजेसम्म खुल्ने गरेका छन् । यही समयमा अन्य पसलहरु पनि सन्चालन गर्ने प्रवन्ध गर्न सके उपयुक्त हुनेछ । सुरुवातको केही समय पसलका प्रकृतिअनुसार फरक फरक दिनमा मात्रै खुल्ने व्यवस्था पनि गर्न सकिन्छ । यसो भन्दै गर्दा महामारीबाट बच्नका लागि अपनाउनु पर्ने सावधानी महत्वपूर्ण पक्ष हो । ग्राहकदेखि विक्रेता समेतको होशियारीले मात्र महामारीको समयमा पनि सहज अवस्था बन्न सक्छ । सवै प्रकारका पसलहरु खुल्न थालेपछि मानिसहरुको उपस्थिति बाक्लिने नै छ । अहिले नै बजारमा चहलपहल धेरै भएको गुनासो आउने गरेको छ । तर पनि होशियारी अपनाउने जिम्मेवारी आम नागरिकको पनि हो । त्यसैले आवश्यकता पर्दा मात्र पसल जाने र सामान खरिद गर्दा भौतिक दुरीलाई कायम गर्नु सबैको कर्तव्य हो ।
नागरिक जीवनलाई सहज बनाउन बजार खुल्ला हुनु पर्दछ । यसका लागि विधि बनाउन आवश्यक छ । सवै प्रकारका पसलहरु एकै दिन वा उही समयमा भन्दा त्यसको मापदण्ड बनाउनु उपयुक्त हुन सक्छ । नागरिक आवश्यकताले प्राथमिकता पाउनु पर्दछ । यस्तै वस्तु तथा सेवा उत्पादन र बजारीकरणमा सहजीकरण आवश्यक छ । व्यवसायीहरुको लगानी तथा नोक्सानीलाई नागरिकको स्वास्थ्यसँग तुलना हुन सक्दैन । तर जोखिम न्यूनीकरण गराई सामाजिक वातावरण सहज बनाउने जिम्मेवारी पुरा गर्नु पर्दछ । नागरिकको स्वास्थ्यको जोखिम कम गर्दै व्यवसायीको माग सम्बोधन हुन आवश्यक छ । यसका लागि बन्दाबन्दीको स्वरुपमा परिमार्जन हुन जरुरी छ । अतः हेटौंडाका व्यवसायीहरुको माग र नागरिक आवश्यकता तथा सतर्कता बीच समन्वयको मार्ग खोजी हुनु पर्दछ ।