हेटौंडाः लकडाउनका बेला उपभोग्य बस्तुको खपत कम छ । निर्माणका काम पनि केही समयअघि ठप्प थियो । पछिल्लो समय निर्माणको कार्यले केही गति लिएको छ । तर, निर्माणको काम प्रभावित हुने गरी निर्माण सामग्रीको मूल्य भने बढेको छ । निर्माणमा प्रयोग हुने प्रमुख बस्तु मध्येको एक हो सिमेन्ट ।
हेटौंडाको शिवम् सिमेन्ट उद्योगले लकडाउनकै बेला दुई पटक गरी प्रतिबोरा (५० केजी) ४५ रुपैयाँ मूल्य बढाएको छ । प्रतिबोरा ६९५ रुपैयाँमा विक्री भइरहेको शिवम् सिमेन्टले दुई पटक मूल्य वृद्धि गरिसकेको छ । पहिलो पटक प्रतिबोरा २५ रुपैयाँ बढाएर ७२० रुपैयाँ पुगेको शिवम् सिमेन्ट पछिल्लो समय थप २० रुपैया बढाएर ७४० रुपैयाँ बनाएको छ ।
निजी क्षेत्रबाट सञ्चालित अन्य सिमेन्ट उद्योगले पनि आफ्नो उत्पादनको मूल्य बढाएको छ । यता सरकारी स्वामित्वको हेटौंडा सिमेन्टले पनि निजी उद्योगकै शैलीमा मूल्य बढाएको छ । हेटौंडा सिमेन्ट उद्योगले जेठ १५ गतेदेखि लागु हुने गरी सिमेन्टको मूल्य प्रतिबोरा ७४५ रुपैयाँ कायम गरेको छ । त्यसअघि हेटौंडा सिमेन्टको मूल्य प्रतिबोरा ७२० रुपैयाँ थियो ।
अहिले उद्योगको लागत बढ्ने अवस्था छैन । अधिकांश उद्योगले लकडाउनअघि नै संकलन गरी राखेको किलिंकरबाट सिमेन्ट बनाएर विक्री गरिरहेको छ । बरु लकडाउनका बाबजुद निर्माणको कार्य जारी राख्ने भनी सरकारले सहजीकरण गरेको मौकामा विशेषगरी निजी क्षेत्रका उद्योगले मूल्य बढाएका हुन् । अहिले ढुवानीमा सहजता छ भने ढुवानीको लागत पनि घटेको छ । लकडाउनकै बेला इन्धनको मूल्य घट्नु, ढुवानीका लागि गाडी पर्याप्त हुँदा ढुवानी भाडा पनि घटेको छ ।
हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले मूल्य बढाउनुपर्ने आवश्यकताका विषयमा फरक फरक तर्क गर्नुभएको छ । सरकारी लगानी भएको उद्योगले निजी क्षेत्रले मूल्य बढाउँदा बजार नियन्त्रण गर्न मूल्यमा प्रतिस्पर्धा गर्नुपर्नेमा उल्टै उनीहरुलाई नै सहयोग पुग्ने गरी मूल्य बढाउनुभयो भनेर सोध्दा उहाँले भन्नुभयो, ‘हाम्रो ४० वर्ष पुरानो प्रविधिमा आधारित उद्योग हो । त्यसैले लागत बढी परेर उद्योग घाटामा रहेकोले मूल्य बढाउन बाध्य भएका हौं । अर्कोतर्फ कर्मचारी र मजदुरको खर्च बढेर मूल्य बढाउन बाध्य भएका हौं ।
यता निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकालले भने निर्माण व्यवसायीले असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने दबावमा रहेका बेला सिमेन्ट, रड लगायतका निर्माण सामग्रीको मूल्य बढेर समस्या भएको बताउनुभयो । सरकारले नै लकडाउनका बेला काम सुरु गर्न भनेपछि अनेकौं समस्याका बीचमा काम सुरु गरेका निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण व्यवसायी मारमा परेको उहाँको भनाइ छ ।