हेटौंडामा पछिल्लो समय डेंगु संक्रमण व्यापक बन्दै गइरहेको छ । वर्षा भइरहेका कारण डेंगु संक्रमण अझ बढ्ने खतरा देखिएको छ । डेंगु बढ्दै जाँदा महामारीको रुप लिनसक्नेतर्फ सबै मानिस सचेत हुनु आवश्यक छ । डेंगु फैलन नदिन स्थानीय सरकारले विशेष चासो दिएर आम नागरिकलाई सचेत बनाउन सक्नुपर्छ । डेंगु लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो एडिस एजिप्टाई/एलबोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट मात्रै यो रोग सर्दछ । यो लामखट्टेलाई टिगर मस्क्वीटो पनि भनिन्छ । जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगुको भाइरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी ४ प्रकारका हुन्छन् । एक पटक एउटा प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको डेंगु रोग लाग्दैन, तर अन्य प्रकारको डेंगु रोग लाग्न सक्छ । दोस्रो पटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।

डेंगु संक्रमण गराउने लामखुट्टेले सामान्यतः जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ । एउटा लामखुट्टेको जीवनकाल करिब ३० दिनको हुन्छ भने आफ्नो जीवनकालमा ५ सयदेखि एक हजार वटासम्म अण्डा पार्ने गर्दछ । संक्रमित लामखुट्टेको सबै अण्डा संक्रमित हुने र त्यसबाट जन्मेका सबै लामखुट्टेले डेंगुको विषाणु बोकेको हुने भएकाले यसको संक्रमण व्यापक हुनसक्छ । करिब डेढ महिनादेखि पूर्वको धरान उपमहानगरपालिका क्षेत्रमा महामारीको रुपमा फैलिएको डेंगु हेटौंडा र आसपासका गाउँपालिकामा पनि फैलिइरहेको छ । हेटौंडा अस्पताल तथा निजी अस्पताल एवम् प्रयोगशालाहरुमा डेंगु जाँचका लागि आउनेको संख्या पनि बढ्दै गएको छ । पछिल्ला दिनहरुमा मकवानपुरमा दैनिक सरदर १५ जनामा डेंगुको संक्रमण पुष्टि भइरहेको छ । मकवानपुरमा साउनयता २ सय ४८ जनामा डेंगु पुष्टि भएको छ भने एक जनाको चितवनमा मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिकामा साउनयता शुक्रबारसम्म १ सय ७२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । हेटौंडासँगै मनहरी, भीमफेदी, मकवानपुरगढी र बकैयामा डेंगुको संक्रमण बढ्दै गएको छ ।

पछिल्लो केही दशकदेखि विश्वभरी नै डेंगु रोगको संक्रमण अत्यधिकरुपमा बढ्दै गइरहेको छ । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ । विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् । एक सय २८ भन्दा बढी मुलुकका ३.९ अरब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । प्रत्येक वर्ष झण्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुका साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । नेपालमा सन् २००४ मा पहिलो पटक एक विदेशीमा डेंगुको संक्रमण भेटिएको थियो । सन् २००६ देखि तराईका विभिन्न जिल्लामा यसको संक्रमण देखिन थालेको थियो । पछिल्ला वर्षहरुमो नेपालको झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, नवपरासी, रुपन्देही, कास्कीलगायत जिल्लाहरुमा यो रोग महामारीको रुपमा देखिएको छ । पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यकासहित नेपालका सबै जिल्लामा डेंगुका बिरामी भेटिने गरेका छन् ।

डेंगुबाट जोकोही संक्रमित हुनसक्छन् । डेंगु संक्रमितमध्ये करिब १० प्रतिशतमा लक्षण देखिने गरेको छ । लक्षण देखिएकामध्ये पनि ५० प्रतिशतमा सामान्य भाइरल ज्वरो आउने, ४० प्रतिशतलाइृ डेंगु ज्वरो आउने र १० प्रतिशतमा डेंगुको जटिल समस्या देखिने गरेको पाइन्छ । डेंगुविरुद्ध खोप तथा खास कुनै उपचारसमेत नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, घरका झ्याल एवम् ढोकामा जाली लगाउने गर्दा यसको संक्रमणबाट बच्ने सम्भावना हुन्छ । लामखुट्टेको बासस्थान र लार्भा नष्ट गरेर यसको संक्रमण कम गर्न सकिने भएकाले आम नागरिक सचेत र जागरुक बन्नु आवश्यक छ । डेंगु फैलन नदिन स्थानीय सरकारले वडा कार्यालयमार्फत् टोलटोलमा डेंगुसम्बन्धी सचेतना जगाएर यसबाट बच्न आवश्यक सहजीकरण गर्नुपर्छ ।