हेटौंडाः विरोधका बीच मकवानपुरको बागमती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित भएको छ । शुक्रबार गाउँपालिकाको १० औं गाउँसभामा पालिकाका अध्यक्ष सर्केश घलानले प्रस्तुत गर्नुभएको ६८ करोड ३० लाख १० हजार रुपैयाँ बजेट पारित भएको हो ।
गाउँसभामा पालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिना उपस्थित हुनुभएको थिएन । पालिका अध्यक्षले आफूहरुलाई कुनै छलफलमै नबोलाउने, मनोमानी ढङ्गले काम गर्ने र सबै आफ्नो केन्द्रित हुने गरी काम गर्न थालेपछि आफू सभामा उपस्थित नभएकोे उहाँले बताउनुभयो । पालिका अध्यक्ष सर्केश घलानले बहुमतको घमण्ड गरेर आफूहरुलाई पालिकाको नीति तथा योजना बनाउने बेला पनि कुनै जानकारी नगराएको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘म जनताको प्रतिनिधि हुँ, भोलि जनताले मलाई प्रश्न गरेमा मैले के जवाफ दिने ?, मैलेचाहिँ थाहा पाउनु पर्दैन ?’ आफूले सबैलाई मिलाएर अगाडि बढ्न आग्रह गर्दासमेत कुनै सम्बोधन नभएको उहाँले बताउनुभयो ।
यस्तै, नेकपा एमालेबाट निर्वाचित बागमती–८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिनाले बजेट पारित गर्ने कुरा कानुन सम्बत नभएपछि आफूहरुले गाउँसभामा विरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘पालिका अध्यक्षले एकलौटी हिसाबले जान खोज्नुभयो, बजेट पारित जस्तो कुरामा सल्लाह नगरीकन एकलौटी रुपमा लान खोज्नुभयो । बजेट राज्यको पैसा हो सबै जनप्रतिनिधिहरुसँग सल्लाह गरेर जानुपर्छ तर भएन अनि हामीले विरोध गरेका हौं ।’ स्थानीय तह सञ्चालन ऐनअनुसार उपाध्यक्षमार्फत् बजेट प्रस्तुत हुनुपर्ने भएपनि यस्तो नभएपछि आफूहरुले विरोध गरेर सभा छोडेर निस्केको उहाँले बताउनुभयो । बागमतीमा १७ जनाको कार्यपालिका सदस्यमा माओवादीको ११ जना, एमालेको ३ जना र काँग्रेसको ३ जना कार्यपालिका सदस्य छन् ।
पालिकालाई संघीय वित्तीय समानीकरण अनुदान १० करोड ४३ लाख रुपैयाँ, संघीय सशर्त अनुदान २० करोड ८० लाख रुपैयाँ, समपूरक ८० लाख रुपैयाँ र सशर्त अनुदान पुँजीगततर्फ २ करोड २६ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । यस्तै बामगती प्रदेश सरकारबाट समानीकरण अनुदान १० करोड ३० लाख ९ हजार रुपैयाँ, सशर्त अनुदान चालु ३ करोड ८८ लाख ५४ हजार रुपैयाँ, सशर्त अनुदान पुँजीगत ४५ लाख रुपैयाँ, विशेष अनुदान ५० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो ।
गाउँपालिकाले प्राप्त अनुदान बजेट ३९ करोड ५५ लाख ५६ हजारबाट आर्थिक विकासतर्फ ११.०१ प्रतिशत, सामाजिक विकासतर्फ २४.२७ प्रतिशत, पूर्वाधार विकासतर्फ २८.१५ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३.५० प्रतिशत र कार्य सञ्चालन तथा प्रशासनिक क्षेत्र ३३.०६ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । पालिकाले प्रत्येक वडालाई प्रवद्र्धन गर्न प्रत्येक वडामा एक चिस्यान केन्द्र स्थापन गर्ने लक्ष्य राखिएको छ । यस्तै कृषि र पशु ब्लकको रुपमा विकास गरी अनुदान र साझेदारीमा कृषि र पशु कार्यक्रम सञ्चालन हुने गरी कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर बजेट निर्माण गरेको जनाएको छ ।
६ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण
पालिकाले गाउँसभाको अवसरमा ६ जना भूमिहिनलाई जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । पालिकाका ३ नम्बर वडाका १ जना भूमिहिन दलितसहित ६ जना भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो ।
जग्गा धनी प्रमाणपत्र पाउनेमा वडा नम्बर ३ का भूमिहीन दलित मंगल बहादुर बिक, भुमिहिन सुकुम्बासी वीरबहादुर भोलन, बुद्धिमान मोक्तान, मंगलीमाया स्याङ्तान, तेजबहादुर मोक्तान र बलबहादुर भोलन रहेका छन् । यसअघि वडा नम्बर ४ का भुमिहिन दलित ३ जना, भुमिहिन सुकुम्बासी २८ जना र वडा नम्बर ५ का भुमिहिन सुकुक्वासी २ जना गरी ३३ जनालाई लालपुर्जा वितरण गरिसकेको छ ।