आरती पाठक अध्यक्षः अस्मिता नेपाल मकवानपुर

झण्डै अढाई दशकदेखि महिला र बालबालिकाको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था अस्मिता नेपाल मकवानपुरले पछिल्लो समय राक्सिराङ गाउँपालिकामा महिला हिंसा न्यूनीकरण तथा बालविवाह न्यूनीकरणका लागि कार्यक्रम गरिरहेको छ । मकवानपुर जिल्लामा बालविवाह धेरै हुने गरेको सन्दर्भमा संस्थाले सञ्चालन गरिरहेको बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रमको सेरोफेरोमा रहेर अस्मिता नेपाल मकवानपुरकी अध्यक्ष आरती पाठकसँग गरिएको कुराकानीः

समाजः अहिलेसम्म अस्मिता नेपालले के कस्ता कार्यक्रमहरु सम्पन्न गर्यो ?
पाठकः अस्मिता नेपाल वि.सं. २०५५ सालमा स्थापना भएको हो । यस संस्थाले महिला तथा बालबालिकाको अधिकारको बारेमा आवाज उठाउने गर्छ । हामीले प्लान्ट इन्टरनेशनलसँगको सहकार्यमा दुर्गम स्थानीय पालिकाको महिलाको आर्थिक सशक्तिकरण, महिला अधिकार, बाल अधिकारको कुरालाई उठाउने गर्छाैं । हामी चार वर्षदेखि मकवानपुरको राक्सिराङ गाउँपालिकामा हुुने बालविवाह न्यूनीकरण, महिला हिंसा न्यूनीकरणका लागि कार्यक्रमहरु गर्दै आएका छौं । विभिन्न अध्ययनले निकालेको तथ्याङ्कअनुसार यस गाउँपालिकामा तामाङ, चेपाङ समुदायहरुको बहुल्यता रहेको छ । यस समुदायका बालबालिकाहरु ५ कक्षासम्म स्थानीय विद्यालयमा अध्ययन गर्ने र थप अध्ययनका लागि २–३ घण्टाको लामो बाटो हिँडेर जानुपर्ने कारणले गर्दा विद्यालय समयसम्म नबस्ने, पढाई छोड्ने र सानो उमेरमा नै बालविवाह गर्ने गरेको पाइएको छ । हामीले यस पालिकाको वडाहरुसँग समन्वयन गरेर बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छौं ।

समाजः यो कार्यक्रममा कस्ता क्रियाकलापहरु हुन्छ, जसले गर्दा बालविवाह न्यूनीकरण गर्न सहज हुन्छ ?
पाठकः
हामीले बालबालिकाहरुलाई अभिमुखीकरण कार्यक्रम राखेर बालविवाह भनेको के हो, बालविवाह कसरी हुन्छ, बालविवाह गर्दा के के असर हुन्छ, भनेर बुझाउँछौं । यस्तो काम बालबालिकाहरुको समस्यामात्रै नभई अभिभावकको मुख्य जिम्मेवारी हुने भएकाले अभिभावकहरु भेला गराई सचेतनामूलक कार्यक्रम राख्यौं । स्थानीय वडाका सदस्यहरु आफैं सहजकर्ता बनेर बालविवाह गर्न हुँदैन भनी सचेतना जगाउनुभएको छ । किशोरीहरुले विवाह गर्न नमानेको खण्डमा हुनसक्ने विभिन्न आक्रमणबाट बच्नका लागि हामीले आत्मरक्षा तालिम दिएर उनीहरुलाई ऊर्जा थप्ने काम गर्यो । विद्यालयका शिक्षकहरुले के कस्ता कुरामा सहयोग गर्न सकिन्छ भनेर अभिमुखीकरण कार्यक्रम राख्यौं । स्थानीय जनप्रतिनिधिहरुको बालविवाह न्यूनीकरणमा के कस्तो भूमिका हुन सक्छन्, किशोरीहरुको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनी छलफल गर्यो । किशोरीहरुले आफूलाई परेको समस्या र आवश्यक परेको कुरालाई अभिभावक, विद्यालयको शिक्षक, स्थानीय जनप्रतिनिधिलाई भन्न सक्ने बनाएका छौँ। हामीले चोकचोकमा विज्ञापनमूलक होडिङबोर्ड राख्ने र बालविवाह न्यूनीकरणसम्बन्धी लेखलाई घरमा लगेर टाँस्ने गरेका छौं ।

समाजः बालविवाह न्यूनीकरणको क्षेत्रमा यो कार्यक्रम तपाईलाई कति प्रभावकारी लागेको छ ?
पाठकः
अस्मिता नेपालले गरेको यो कार्यक्रम निकै प्रभावकरी भएको छ । यसै अभियानअन्तर्गत् रहेर हामीले बनाएको अभिभावक समूहको अध्यक्ष नै त्यहाँको वर्तमान जनप्रतिनिधि हुनुभएका कारण उहाँले बालविवाह न्यूनीकरणको क्षेत्रमा कदम चाल्नुभएको छ । प्राविसम्म मात्र पठनपाठन हुने विद्यालयलाई मावि बनाउनुभएको छ । त्यस्तै हामीले बनाएको किशोर तथा किशोरी समूहमा संलग्न भाइबहिनीहरुले पनि २० वर्षपछि मात्रै विवाह गर्ने गरेका छन् । उनीहरुले नै गाउँटोलका साथीभाइलाई २० वर्षभन्दा अगाडि विवाह गर्न हुँदैन भनेर सम्झाउन सक्ने भएका छन् । यसरी हेर्दा यो कार्यक्रम उपलब्धिमूलक छ ।

समाजः बालविवाह न्यूनीकरण गर्न कुन–कुन निकाय बढी जिम्मेवार हुनुपर्छ ?
पाठकः
बालविवाह न्यूनीकरणका लागि सबैभन्दा पहिले अभिभावक जिम्मेवार हुनुपर्दछ । अभिभावकले आफ्नो भूमिका निभाएर बालबालिकालाई परिपक्व भइसकेपछि मात्र विवाह गर्न प्रोत्साहन गर्न सक्नुपर्छ । त्यसपछि यो विषयमा विद्यालय, स्थानीय सरकार, गैरसरकारी संस्था र बालबालिका आफैं जिम्मेवारी हुनु पर्दछ । बालबालिकाले धेरै समय विद्यालयमा बिताउनुपर्ने भएकाले शिक्षकहरुले बालविवाहबाट हुने असरका बारेमा विद्यार्थीलाई बुझाउनु पर्दछ । त्यस्तै स्थानीय सरकारले नीतिनियम निर्माण गरी कार्यान्वयन गर्न सक्नुपर्छ । स्थानीय सरकारले बनाएको नीतिनियमका आधारमा गैरसरकारी संस्थाहरुले अभिभावक, विद्यालय, स्थानीय सरकारस“ग समन्वयन गरेर अभिमुखीकरण कार्यक्रमहरु गरी अगाडि बढ्नु पर्दछ ।

समाजः अस्मिता नेपालको यो अभियानको समयावधि अब एक वर्षमात्र बाँकी छ, यो अवधिमा के कस्ता काम गरिसक्ने योजना रहेको छ ?
पाठकः
अस्मिता नेपालले अर्काे वर्ष बालविवाहसम्बन्धी सन्देशमूलक कार्यक्रम रेडियो, टेलिभिजनमार्फत् प्रसरण गर्ने, बालबालिका, अभिभावक र सम्बन्धित सबैका लागि अभिमुखीकरण कार्यक्रम गर्ने, बालबालिकालाई अतिरिक्त क्रियाकलापहरु गर्न लगाउने लगायतका बालबालिकाको क्षेत्रमा काम गर्दैछ ।