हेटौँडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा सञ्चालन भएको ६७ दिने आधारभूत व्युटीपार्लर तालिम सम्पन्न भएको छ । बुधबार हेटौँडामा एक कार्यक्रमको आयोजना गरी तालिम सम्पन्न गरिएको हो ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले युवालार्ई आत्मनिर्भर र उद्यमशीलतामा जोड्न तालिम आयोेजना गरिएको बताउनुभयो । तालिमले आत्मविश्वास बढ्ने र रोजगारीका लागि सहज हुने उहाँले बताउनुभयो । उहाँले तालिममा सिकेका सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो । बागमती गाउँपालिकाले युवालाई आत्मनिर्भर बनाउने र वैदेशिक पलायन नभई आफ्नै देशमा केही गरौँ भन्ने भाव जगाउने विश्वास गरिएको उहाँले बताउनुभयो । उहाँले गाउँपालिकाकोे आगामी नीति तथा योजनामा यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने बताउनुभयो ।
यस्तै पालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाले तालिमबाट केही भएपनि आत्मनिर्भर बन्न मद्दत पुग्ने बताउनुभयो । पालिकाले नयाँ उद्यमी सिर्जना गर्न तालिम आयोजना गरेको उहाँले बताउनुभयो । यस्तै ३ नम्बर वडाध्यक्ष कमानसिंह पाख्रिनले तालिमले जीविकोेपार्जनका लागि सहज हुने बताउनुभयो । शिक्षालाई सीपमा जोडेर जीवनोपयोगी बनाएर आत्मनिर्भर बन्नुपर्ने उहाँको भनाई छ । यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले तालिममा सिकेका सीपलाई प्रयोग गरेर लाभ लिन आग्रह गर्नुभयो ।
तालिममा सहभागीमध्ये उत्कृष्ट प्रशिक्षार्थीको रुपमा दीपा राउत र अनुशासित प्रशिक्षार्थीमा सरस्वती विक र उमा मोक्तानलाई सम्मान गरिएको छ । पालिकाको आयोजना र हेटौँडा–२ स्थित सुष्माज व्युटी पार्लरको व्यवस्थापनमा गत चैत २९ गतेदेखि असार ७ गतेसम्म तालिम आयोजना भएको थियो । तालिममा बागमती गाउँपालिकाका २० जना महिलाको सहभागिता रहेको थियो । तालिममा सुस्मा थापा मगर, कुमारी तितुङ र अन्जु तुम्सिङले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पालिकाका रोजगार संयोजक नागेन्द्र महतो, प्राविधिक दिनेश बानियाँ लगायतको उपस्थिति रहेको थियो ।