हरेक वर्ष जुन १४ मा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सन् २००४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको छ । विश्व स्वास्थ्य संगठनको अगुवाइमा विश्वभर यो दिवस मनाइन्छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाउन थालिएको हो । यस वर्ष ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ बुधबार विश्व रक्तदाता दिवस मनाइएको छ । नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ । यसले नियमितरुपमा रगत र प्लाज्माको दानमार्फत् दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ । सुरक्षित रगत र रक्तदानको आवश्यकताबारे सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्न यो दिवस सहयोगी बन्दै आएको छ । रक्तदाता दिवसको अवसरमा रक्तदान गर्ने व्यक्तिहरुलाई धन्यवाद दिन र रक्तदानको महत्व दर्शाउन विभिन्न संघसंस्था र अस्पतालले कार्यक्रम आयोजना गरेका छन् ।

रक्तसञ्चारबिना मानवको जीवन सम्भव छैन । मानिसको शरीरलाई जीवित राख्न र शरीर सञ्चालन गर्न रगत अपरिहार्य हुन्छ । रगतकै सहायताबाट मानिसले श्वासप्रश्वास क्रिया सम्पन्न गर्दछ र शरीरलाई आवश्यक शक्ति प्राप्त हुन्छ । रगत मानिसको लागि जीवन हो । त्यसैले रक्तदानलाई जीवनदान भनिँदै आएको छ । मानिसको शरीरमा ए, बी, ओ र एबी पोजेटिभ/नेगेटिभ रगत समूहमध्ये एक प्रकारको रगत हुन्छ । यसमध्ये ओ नेगेटिभ रगत समूहका मानिसलाई सोही समूहको रगतबाहेक अन्य रगत दिन मिल्दैन भने ओ नेगेटिभ रगत सबैलाई दिन सकिन्छ । एबी पोजेटिभ समूहको रगत हुनेलाई सबै समूहको रगत दिन सकिन्छ । विश्वमै सबैभन्दा बढी मानिसमा पाइने रगत समूह ओ पोजेटिभ हो भने सबैभन्दा कम (करिब २ सयमध्ये एकजनामा) पाइने रगत समूह एबी नेगेटिभ हो । मानिसको शरीरमा तरलको रुपमा रहने रगत रातो तथा सेतो रक्तकोष र प्लेटलेट्स मिलेर बनेको हुन्छ । रातो रक्तकोषले शरीरमा अक्सिजन परिवहनमा सघाउँछ भने सेतो रक्तकोषले रोगविरुद्ध लड्ने क्षमताको विकास गर्छ । प्लेटलेट्सले घाउ–चोटपकट लागेर रगत बग्नेक्रममा रगतलाई जमाएर रोक्न मद्दत गर्दछ ।

मानिसको शरीरमा रगत भएरमात्र पनि हुँदैन, शुद्ध रगत आवश्यक पर्दछ । शरीरमा पुराना रक्तकोषहरु मरेर जाने र नयाँ रक्तकोष बन्ने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ । विभिन्न दुर्घटना, चोटपटक, घाउ, संक्रामक रोग, दीर्घ रोग आदिको कारण मानिसको शरीरमा रगतको कमी हुने गर्दछ । यस्तो अवस्थामा तत्काल शरीरमा रगत दिन सकेन भने मानिस मर्न पनि सक्छ । त्यसैले रगतलाई अमूल्य मानिन्छ । नेपालमा रेडक्रस सोसाइटीले विभिन्न जिल्ला तथा शहरहरुमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरी सकेसम्म सहज र निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । कतिपय दुर्लभ समूहका रगतको अभाव हुने र चाहिएको समयमा तत्काल रगत उपलब्ध नहुँदा कयौं मानिसले ज्यानसमेत गुमाउनु पर्ने अवस्था छ ।

सामान्यतया ५० केजी तौल भएको र १८ वर्षदेखि ६० वर्षसम्मका मानिसले रक्तदान गर्न सक्दछन् । रगतको महत्व बुझाउँदै रक्तदानको आवश्यकताबारे जनचेतना फैलाउन रक्तदाता दिवसले सहयोग गर्नुपर्छ । मानव जीवन बचाउने रक्तदाताहरुको योगदानको कदर गर्न पनि यो दिवसको उद्देश्य बन्नुपर्छ । नयाँ रक्तदातालाई उत्प्रेरित गर्न एवम् नियमित रक्तदातालाई सम्मान गर्न सकेमा रक्तदाता दिवस मनाउनु सार्थक हुनेछ । रगतको अभावमा कसैले मृत्युवरण गर्न नपर्ने अवस्था प्रत्याभूत गर्न रगतको सुनिश्चितता हुनुपर्छ । नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको ब्लड बैंकलाई अझ विस्तार र क्षमता वृद्धि गरी रगतको आपूर्तिलाई निरन्तरता दिन सकेमा रगतको अभावमा कसैले पनि ज्यान गुमाउन पर्दैन । यसका लागि रक्तदाता दिवसमा मात्र नभई अन्य समयमा पनि रक्तदानको महत्वलाई उजागर गर्नु आवश्यक हुन्छ ।