अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै डा. कुन्दन अर्याल ।

हेटौँडाः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मानवअधिकारको रक्षामा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । शुक्रबार बिहान हेटौँडामा आयोजित बागमती प्रदेशमा मानवअधिकारको अवस्था र नागरिक समाजको भूमिका विषयक् अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै पत्रकारिता तथा आमसञ्चार विषयका सहप्राध्यापक समेत रहनु भएका डा. अर्यालले भन्नुभयो, “लोकतन्त्रमा मिडियाको भूमिका महत्वपूर्ण हुन्छ । सवैखाले अधिकारको सुनिश्चितताका लागि मिडियाको भूमिका महत्वपूर्ण हुन्छ ।”

अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष अर्यालले सर्वोच्च अदालतले दोषी ठहर गरेका व्यक्तिलाई माफी दिने निर्णयले आपराधिक मनोवृत्तिलाई प्रोत्साहित गर्ने बताउनुभयो । मानवअधिकारको सुनिश्चितताका लागि संक्रमणकालिन न्याय निरुपणको प्रक्रिया पूरा हुन आवश्यक रहेको पनि उहाँले औँल्याउनुभयो । मानवअधिकारको रक्षाका लागि राज्यलाई मात्रै जिम्मेवार बनाउने नभई समाजका सवै पक्ष जिम्मेवार र जवाफदेही हुनुपर्नेमा डा. अर्यालले जोड दिनुभएको छ । उहाँले आयोगहरुको भूमिकाको विषयमा पनि गम्भीररुपमा समीक्षा गर्नुपर्ने औँल्याउनुभएको छ ।

बालबालिकाले समेत आत्महत्या गरिरहेका घटना र आम नेपाली विदेशिन चाहने अवस्थालाई देख्दा अझ बढी अन्यौलताको स्थिति देखिएको डा. अर्यालले बताउनुभयो । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मानवअधिकारको मुद्दालाई राज्य पक्षले गम्भीरताका साथ सम्बोधन नगरेकै कारण नेपाल मानवअधिकारको सन्दर्भमा क श्रेणीबाट ख श्रेणीमा घटुवा हुने जोखिममा रहेको जानकारी दिनुभयो । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक रेग्मीले मानवअधिकार संरक्षणको संवेदनशीलतालाई राज्यले बुझ्न नसकेको उल्लेख गर्नुभयो ।

हिंसाका घटनामा पीडितलाई सुरक्षितरुपमा राख्न राज्यका निकायसँग सुरक्षित आवासको व्यवस्था नहुनु र गैरसरकारी निकायसँग हारगुहार गर्नुपर्ने अवस्थाप्रति एसएसपी रेग्मीले गुनासो गर्नुभयो । पीडितलाई उपचार गरिदिने अवस्था पनि राज्यका निकायसँग नभएको उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा सहभागीले मानवअधिकारको अवस्थाको विश्लेषण गर्नुपर्ने, नागरिक समाजको भूमिका जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा नागरिक समाजका विभिन्न क्षेत्रका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।