पुरस्कृत विद्यार्थी र सम्मानित अभिभावक ।

फिर्केपाखा (मकवानपुरगढी)ः विद्यालयमा अभिभावक भेला भनेपछि अभिभावकको उपस्थितिमै सीमित गरिन्छ । अभिभावकका कुरा सुन्ने, अभिभावकका प्रतिक्रिया, सल्लाह, सुझाव लिने काम हुँदैनन् । व्यवस्थापन समितिमा पनि दलीय स्वार्थप्रेरित भएर सदस्य चयनको प्रयास हुन्छ । तर, मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–४, फिर्केपाखास्थित ज्वालादेवी आधारभूत विद्यालयको शुक्रबार अभिभावक भेला भने फरक ढंगले सम्पन्न भएको छ । अभिभावक भेलाको अवसरमा वार्षिक परीक्षाको नतिजामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ भने प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीका अभिभावकलाई सम्मान गरिएको छ ।

विद्यार्थीको राम्रो पठनपाठनमा अभिभावकको अहम् भूमिका रहने भएकाले विद्यार्थीसँगै अभिभावकलाई पनि सम्मान गरिएको प्रधानाध्यापक सरोज फयाँलले जानकारी दिनुभयो । शैक्षिक सत्र २०७९ मा भर्ना भएका ८३ जना विद्यार्थी मध्ये वार्षिक परीक्षा दिने ५७ जना विद्यार्थी रहेको ज्वालादेवीमा चालु शैक्षिक सत्र २०८० मा ८७ जना विद्यार्थी भर्ना भएका छन् । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा चालु शैक्षिकसत्रदेखि २ कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु भएपछि विद्यार्थी आकर्षिक भएको प्रधानाध्यापक फयाँल बताउनुहुन्छ ।

माथिल्लो कक्षामा पनि अंग्रेजी माध्यममा पठनपाठन गर्ने हो भने विद्यार्थी संख्या बढाउन सकिने उल्लेख गर्नुहुँदै प्रधानाध्यापक फयाँलले भन्नुभयो, “माथिल्लो कक्षामा अंग्रेजी माध्यममा पठनपाठन गराउन शिक्षकको अभाव छ । शिक्षक व्यवस्थापन गरेर अंग्रेजी माध्यममा पठनपाठन गराउने हो भने हामी विद्यार्थी संख्या अझै बढाउन सक्छौं ।” ज्वालादेवीमा इसिडी कक्षाका २ जना शिक्षकसहित ९ जना शिक्षक छन् । विद्यालयले शुक्रबारलाई पुस्तकरहित बनाउने र विद्यार्थीलाई संस्कार, व्यवहार र जिपनोपयोगी सीप सिकाउने प्रयास गरिने प्रधानाध्यापक फयाँलले आफ्नो योजना उल्लेख गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कठायतको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा भएको अभिभावक भेलामा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको पनि आतिथ्य रहेको थियो । यसैबीच अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिका सदस्यहरु चयन गरिएको छ । भेलाले एस्तर भुलुनकी अभिभावक दिलमाया भुलुन, जस्मिन ठकुरीकी अभिभावक चमेली शाही ठकुरी, आयुष थापाका अभिभावक लिलाबहादुर थापा र अवरोध मुक्तानका अभिभावक राजाराम मुक्तानलाई सदस्य चयन गरिएको छ । नवनिर्वाचित समितिले दुईजना मनोनित गरेपछि व्यवस्थापन समितिको अध्यक्ष चयन हुने प्रधानाध्यापक फयाँलले जानकारी दिनुभएको छ ।

यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा कृष्णबहादुर थिङ चयन हुनुभएको छ । सदस्यमा सन्तकुमार थिङ, सविता घलान, राधिका बज्यु, जानुकामाया हमाल, पूर्णिमा मुक्तान, कृष्णबहादुर लो, कविता थोकर र सुशान्त गोले चयन हुनुभएको छ । अभिभावक भेलामा छिमेकी विद्यालयका प्रधानाध्यापकको पनि उपस्थिति रहेको थियो ।