बाल अधिकारभित्र मुख्यरुपमा चारवटा अधिकार छन् । बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास गर्न पाउने अधिकार र सहभागी हुन पाउने अधिकार बालबालिकाका प्रमुख अधिकार हुन् । संयुक्त राष्ट्रसंघीय महासभाले सन् १९८९ नोभेम्बर २० मा पारित गरेको बाल अधिकारसम्बन्धी महासन्धिले बाल अधिकारका यिनै चार क्षेत्रलाई उल्लेख गरेको छ । बाल अधिकारका प्रमुख सिद्धान्तभित्र पनि बाल सहभागिताको कुरालाई बढी जोड दिइएको छ । बालबालिकाले सहभागिताको अधिकार पाउन सकेमा अन्य तीनवटा अधिकार सजिलै पाउने सम्भावना देखिन्छ । बालबालिकालाई उनीहरुसँग सम्बन्धित विषयवस्तु तथा नीति निर्माणमा अर्थपूर्ण सहभागी हुने अवसर प्रदान गरिनु नै बाल सहभागिता हो । बालबालिकालाई पनि विचार र अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । आफ्नो जीवनसँग सम्बन्धित हरेक पक्षमा आफ्ना विचार व्यक्त गर्ने र बालबालिकाको उचित विचारको कदर भएमा बाल सहभागिता सुनिश्चित हुनेछ ।

जब बालबालिकाले सहजै आफ्ना विचार व्यक्त गर्न पाउँछन वा सक्छन्, त्यसपछि उनीहरुले आफ्ना अन्य अधिकारहरुको माग गर्न सक्छन् भन्ने मान्यताबाट हेर्दा बाल सहभागिता सबैभन्दा बढी महत्वपूर्ण हुन आउँछ । अहिले हेटौंडा उपमहानगरलाई बालमैत्री घोषणा गर्ने तयारी भइरहेको छ । मकवानपुर जिल्लाका मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिकाले आफूलाई बालमैत्री पालिका घोषणा गरिसकेको र हेटौंडा उपमहानगरपालिकाले आगामी मंसिरसम्म बालमैत्री घोषणा गर्ने तयारी गरिरहेको छ । उपमहानगरले बालमैत्री घोषणाका लागि बाल सहभागिताको क्षेत्रमा केन्द्रित भई तयारी तिब्र पारेको छ । उपमहानगरले नगर क्षेत्रका सबैजसो विद्यालय र समुदायमा बाल सहभागिता सुनिश्चित गरी बाल अधिकारको प्रत्याभूति दिलाउन बाल समूह तथा बाल क्लबहरुको गठन, पुनर्गठन तथा परिचालनको काम गरिरहेको छ । १९ वटा वडामध्ये १७ वटा वडामा बाल समूहहरु गठन भइसकेका छन् । गठन भएका बाल समूहलाई क्रियाशील बनाउन उपमहानगरले सहजकर्तासमेत परिचालन गर्दै आएको छ ।

बालमैत्री घोषणाका लागि बालबालिका र बाल अधिकारसँग सम्बन्धित ५१ वटा सूचकहरु पूरा गर्नु आवश्यक छ । यी सूचकहरु बाल अधिकारका प्रमुख चार क्षेत्र र संस्थागत विकाससम्बन्धी छन् । बालमैत्री घोषणाका लागि बालबालिकाको बाँच्न पाउने अधिकार (बाल बचाउ) सम्बन्धी १४ वटा सूचक, बालबालिकाको संरक्षण पाउने अधिकार (बाल संरक्षण) अन्तर्गत् १० वटा सूचक, बालबालिकाको विकास गर्न पाउने अधिकार (बाल विकास) सम्बन्धी ५ वटा सूचक र बालबालिकाको सहभागी हुन पाउने अधिकार (बाल सहभागिता) सम्बन्धी ६ वटा सूचकहरु पूरा गर्नु आवश्यक छ । संस्थागत विकाससम्बन्धी १५ वटा सूचकहरु पनि पूरा भइसकेपछि बालमैत्री पालिका घोषणा गर्न सकिन्छ । हेटौंडा उपमहानगरपालिकाले बाल सहभागितासम्बन्धी सूचकहरु पूरा गराउन बाल क्लब तथा समूहमार्फत् विभिन्न गतिविधि गर्दै आएको छ ।

उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्न बाल बचाउ, बाल विकास र बाल सहभागितासम्बन्धी सूचकहरुसँगै बाल संरक्षणसम्बन्धी सूचकहरु पूरा गर्नु आवश्यक छ । बालबालिकाको पोषण, खोप, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन, विभिन्न किसिमका संरक्षणसम्बन्धी सूचकहरु पूरा गराउन बाल सहभागिताको सुनिश्चितता आवश्यक देखिन्छ । बाल सहभागिताको प्रवद्र्धनले बालबालिकालाई सामाजिककीरकण गराउनुका साथै उनीहरुको अन्य अधिकार प्राप्तिका लागि सहयोग गर्दछ । जब बालबालिकाले आफूसँग सम्बन्धित कुराहरुमा आफ्ना विचार व्यक्त गर्न सक्छन्, बालबालिकाका सम्बन्धी नीति, नियम र कार्यक्रम निर्धारण गर्दा बालबालिकाको कुरा पनि सुनिन्छ, तब बालबालिकाले आफ्ना अधिकार पाउने सम्भावना प्रबल बन्दछ । बालबालिकालाई विभिन्न क्षेत्र र विषयसँग सम्बन्धित कार्यक्रम, छलफल तथा नीति निर्माणमा सक्रिय सहभागी गराएर बाल अधिकारको सुनिश्चितता गर्दै बालमैत्री पालिका घोषणा गर्नु सान्दर्भिक देखिन्छ ।