हावाहुरीले क्षति पुर्याएको कक्षाकोठा अवलोकन गर्नुहुँदै मन्त्री मुक्तान र प्रदेश सभा सदस्य पुलामी ।

हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माविको कक्षाकोठाको छानो उडाएको छ । जेठ ३ गते साँझ ५ बजेको समयमा हावाहुरीले ३ वटा कक्षाकोठाको छानो पूर्णरुपमा उडाएको छ भने ४ वटा सोलार प्यानल, २ वटा फ्यान, केजी र १ कक्षाको म्याट र साजसज्जा पूर्णरुपमा क्षति भएको प्रधानाध्यापक कमल फुयाँलले जानकारी दिनुभएको छ ।

हावाहुरीले क्षति पुर्याएको विद्यालयको कक्षाकोठा मर्मतको काम भने अझै सुरु हुन सकेको छैन । करिब ८ लाख रुपैयाँ बराबरको क्षति पुगेको जानकारी गराउनुहुँदै प्रधानाध्यापक फुयाँलले भन्नुभयो, “क्षति लगत्तै पालिका र प्रदेश सरकारलाई जानकारी गराइसकेका छौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तान, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीसहित पालिकाका प्रमुख, उपप्रमुखलाई समेत जानकारी गराइसकेका छौं । पर्सी मंगलबारदेखि मर्मतको काम सुरु गर्न सकिन्छ कि भनेर लागिपरेको छु ।”

आफ्नो कक्षाकोठामा पुगेको क्षति हेरेर निराश हुँदै विद्यार्थी ।

३ वटा कक्षाकोठा छानो पूर्णरुपमा उडाएकोले विद्यालयलाई नियमित पठनपाठनमा समस्या भएको छ । नर्सरी र केजी कक्षा एउटै कोठामा सञ्चालन गरिरहेको जानकारी गराउनुहुँदै प्रधानाध्यापक फुयाँलले भन्नुभयो, “९ कक्षाको ठूलो कोठाको छानो उडाएपछि धेरै विद्यार्थीलाई सानो कोठामा राख्न बाध्य छौं । ४ जना बस्न मिल्ने बेच्नमा ५ जना विद्यार्थी सकिनसकी बस्न बाध्य छन् ।” अहिले कक्षा ११ र १२ को पठनपाठन सकिएकोले कक्षाकोठा व्यवस्थापनमा केही सहज भएको उहाँको भनाइ छ ।

कक्षाकोठामा पुगेको क्षति व्यवस्थापन गर्न स्रोत खोजी गर्ने कार्य भइरहेको प्रधानाध्यापक फुयाँलले बताउनुभएको छ । गाउँपालिकाबाट तत्काल २ लाख रुपैयाँ मर्मतका लागि पठाउने भएको जानकारी दिनुहुँदै यत्तिले अपुग भएकोले थप रकम जोहो गर्न समस्या भइरहेको प्रधानाध्यापक फुयाँलले बताउनुभयो ।