अटो तथा मयूरीमा आफ्ना मागहरु लेखिएको प्लेकार्ड टाँस सहितको तस्वीर ।

हेटौंडाः राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ जिल्ला कार्यसमिति मकवानपुरले तीनपाङ्ग्रे सवारी व्यवस्थापनको माग गर्दै बिरोध र्याली प्रदर्शन गरेको छ । शुक्रबार मजदुरहरुले अटो तथा मयूरीमा आफ्ना मागहरु लेखिएको प्लेकार्ड टाँसगरी हेटौंडा नगर क्षेत्रमा र्यालीसहित बिरोध प्रदर्शन गरेका हुन् ।

हुप्रचौरबाट सुरुभएको बिरोध र्यालीका क्रममा मजदुरहरुले विभिन्न नाराहरु लगाएका थिए । नगरपालिकाको बिभेदकारी राजनीतिकरण बन्द गर, सुनिश्चित स्टिकर प्रणाली तत्काल लागू गर, मजदुर एकता जिन्दाबाद, यातायात मजदुरमाथि भएको ज्यादती अन्त्य गर, हाम्रो आन्दोलन जारी छलगायत नारा लगाएका थिए । बिरोध र्याली सीमा चोकमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै राष्ट्रिय प्रजातान्तिक मजदुर संघ मकवानपुर जिल्ला अध्यक्ष काजीमान तितुङले मजदुरमाथि राजनीतिकरण भएको बताउनुभयो ।

नगरपालिकाले आफैं स्टिकर दिनुपर्ने ठाउँमा हामीले माग्दा पनि स्टिकर नदिएको बताउँदै आइतबार वार्ताका लागि नगरपालिकामा बोलाए पनि आन्दोलन यथावत चलिरहने उहाँले बताउनुभयो । नगरपालिकाले स्टिकरको निहुँ गरेर मजदुरहरुलाई दुःख दिन खोजेको उहाँले आरोप लगाउनुभयो । मजदुरको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाई छ । मजदुरहरुले समस्या सामाधानको माग गर्दै बैशाख ६ गतेदेखि बैशाख ११ गतेसम्म चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरी कार्यक्रम गर्दै आइरहेका छन् ।